अपहरणकारी पक्राउ



काठमाडौ (नेस) । धुम्वाराही क्षेत्रमा गुण्डागर्दी गर्दै सर्वसाधारणमा धम्की दिदैं आएका पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धुम्वाराही बस्ने रामबहादुर कटुवाललाई श्रेष्ठले घर बनाउने ठेक्का दिई घर तयार भएपछि पैसा माग्न जादा उल्टै ज्यान लिने धम्की दिएको सुचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरी कारवाही अगाडि बढाएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पक्राउ परेका श्रेष्ठले यस अघि पनि घरको ठेक्काको काम गर्दै आएका रमेश कुवरलाई पनि अपहरण गरेर रकम असुल गरेको र ठाउं ठाउंमा केटाहरु जम्मा गरी योजनावद्ध रुपले लुटपाट गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठले २०७३ पुस ४ गते कुवरलाई चक्रपथस्थित एन्द्रेणी फाष्टफुडमा बोलाई धुम्वाराही नजिकै रहेको सुक्रराज तामाङको कोठामा लगेर बन्दक बनाई ५० हजार नगद, सुनको औठी, मोवाईल, प्राइम बैकको चेक दुई थान, कुलबहादुर थापाको नाममा ११ लाखको चेक काट्न लगाएको अनुसन्धानको क्रममा खुलेको महाशाखाले जानकारी दिएको छ ।

प्रहरीले श्रेष्ठको योजनामा अपहरणमा परेका कुवरको जाहेरीमा त्यस बेलानै अपहरणमा संलग्न रहेका नविन कुमार राई, कोमानन्द खड्का, सरु केसी, आशिका परियार, कोलबहादुर थापा मगर र शुक्रराज तामाङलाई पक्राउ गरी कारवाही अगाडि बढाएको थियो ।
अपहरणका मुख्य योजना बनाई फरार भएका श्रेष्ठलाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्