पुस्तक चर्चा: किसान आन्दोलनको पृष्ठभूमि पुस्तकमा



ज्ञानमणि नेपाल कालोटोपी
काभ्रेली कृषक एवं सहकारी अभियन्ता दीपकप्रसाद पौडेलले आफूले किसान आन्दोलनका क्रममा भोगेका विविध विषयहरुलाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् । नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमि, विचार र आन्दोलन शीर्षक दिइएको प्रस्तुत पुस्तकले किसान संघ किन, कसका लागि, कसरी गठन भयो, यसले अहिले के–के गरिरहेको छ भन्ने चित्रण गरेको छ ।

किसानहरुले विगतदेखि अहिलेसम्म झेल्नुपरेका अप्ठ्यारा र समस्याहरुलाई सिलसिलाबद्ध तरिकाले प्रस्तुत गरिएको छ । उनका लेखाइहरुमा समस्याको उठान मात्र छैनन्, समाधानका उपायहरु पनि छन् । तर तिनीहरुलाई कार्यान्वययन गर्ने निकायको भने अभाव नै छ । किनकि सरकार किसानका समस्यालाई समस्या नै मान्दैन ।

 

सानै उमेरदेखि नेपाली किसानका हक, अधिकार, समस्यालगायतका क्षेत्रमा लामो समय बिताएका पौडेलले सहकारी र दूध विकासको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् । आफ्नो काम गराइका समयमा पाएका हन्डर, दुःख र सजिला वा असजिला कुराहरु सबैलाई उनले आफ्नो पुस्तकमा अटाउने प्रयास गरेका छन् ।

नेपाल किसान संघको केन्द्रीय नेतृत्वमा रही काम गरेका लेखक पौडेलले ३ दशकभन्दा धेरै समय नेपालको प्रजातान्त्रिक आन्दोलन, सहकारी क्षेत्रको विकास र विस्तार गर्ने कार्यमा खर्च गरेका छन् । प्रस्तुत पुस्तकमा उनले सो अवधिमा देखे–भोगेका किसानसँग सम्बन्धित विविध पाटाहरुको विश्लेषण गरेका छन् । यस पुस्तकमा उनले किसान संघ किन जन्मियो र किसानहरुलाई यसको आवश्यकता किन छ भन्ने कुरालाई पनि दर्शाएका छन् । नेपाल किसान संघको सिद्धान्त, उद्देश्य र नीति तथा कार्यक्रम, नेपाल किसान संघका माग र नेपाली किसानका लागि सरकारले गर्नुपर्ने महत्वपूर्ण कार्यहरुको पनि उठान यसमा गरिएको छ ।

अहिलेसम्म यसरी किसानमै केन्द्रित भएर पुस्तक लेख्नेहरु विरलै छन् । यसर्थ पनि लेखक पौडेलको प्रस्तुत पुस्तक किसानहरुको लागि एउटा ऐतिहासिक दस्ताबेजको रुपमा रहने निश्चित छ । यसले किसान संघको इतिहास बोलेको छ, वर्तमान चित्रण गरेको छ र भविष्यको बाटो पनि देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्