पतञ्जलि



प्रा.डा. विष्णुराज आत्रेयद्वारा रचित ऐतिहासिक उपन्यास पतञ्जलिको धारावाहिक शृङ्खला– १
ज्ञान र विज्ञानको अजस्र स्रोत हो वेद । यसमा विश्व ब्रह्माण्डको उत्पत्ति, स्थिति र लयका समग्र विधि विधान छन् । समस्त प्राणीका आयु र आरोग्यबारे चारै वेदमा यत्रतत्र उल्लेख भएको पाइन्छ । त्यसलाई आयुर्वेद भनिन्छ । त्यसमध्ये पनि अथर्ववेदमा यसको चर्चा विशेषरुपमा भएको छ । प्राणीहरु आ–आप्mना गुण, कर्म, स्वभाव र संस्कारले चौरासी लाख योनिमा जन्मने र मर्ने गर्दछन् ।

जन्मने व्यक्ति आयुष्य छँदासम्म बाँच्दछ र आयुष्य सकिँदा मर्दछ । मृत्युका कारण एक सय छन् । तीमध्ये उनान्सय कारणहरु गौण कारण हुन् । यिनलाई अकाल मृत्यु भनिन्छ । काल एउटा मुख्य कारण हो । यसबाट प्राणीलाई कसैले पनि बचाउन सक्दैन । पूर्णायुष्यपछि उसले मर्नै पर्दछ । यो अकाट्य नियम हो ।

यस कालमृत्यु अर्थात् पूर्णायुष्य भोगेर हुने मृत्युबाहेक अन्य बाँकी उनान्सय थरी मृत्युहरु अकाल मृत्यु हुन् । यी मृत्युहरु यम, नियम, आहार तथा व्यवहार आदिमा गरिने हेलचक्र्याइँ र त्यसबाट हुने विभिन्न थरी आधि र व्याधिका कारण हुने गर्दछन् । यिनलाई विविध उपाय र उपचारद्वारा रोक्न र समाप्त गर्न सकिन्छ । यस आयुर्विद्यालाई वेदको उपाङ्ग भएकाले आयुर्वेद भनिन्छ । अतः आयुर्वेद ऋग्वेदको उपवेद हो र अथर्ववेदको उपाङ्ग हो । आयुर्वेद र आयुर्वेद विद्या जान्नेहरुका पनि विभिन्न नाउँ छन् । आयुर्वेदलाई भैषज्य, भेषज, वैद्यक, चिकित्साशास्त्र भनिन्छ भने यसका विद्वान्हरुलाई भिषक्, वैद्य, चिकित्सक आदि ।

सृष्टिकर्ता ब्रह्माजीले आफूले सृष्टि गरेका प्रजाहरुलाई अकालमा मर्न र दुःख पाउन नपरोस् भनेर वेदमा यत्रतत्र छरिएका आयुर्वेदीय विषयहरुलाई सङ्कलित गरी एक लाख श्लोक संख्याको एउटा ग्रन्थ निर्माण गरे । ती एक लाख श्लोकहरुलाई पनि उनले पढ्न, बुझ्न सजिलो होस् भनेर विषयअनुसार एक हजार अध्यायमा विभक्त गरे । ब्रह्माजीका त्यस आयुर्वेद ग्रन्थको नाउँ ब्रह्मसंहिता थियो । बह्माजीका एउटा छोराको नाउँ अत्रि थियो । तिनै बालक पछि गएर तपस्या र विद्याको साधना गरेर गोत्रकार महर्षि अत्रिका रुपमा प्रसिद्ध भए । बालक अत्रिले पिताका सान्निध्यमा रहेर वेद आदि शास्त्रको अध्ययन सम्पन्न गरे ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्