सुवेदी र विश्वकर्मा सम्मानित



बोस्टन, अमेरिका । युवा कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसको अवसर पारेर बोस्टनमा युवाकवि लालगोपाल सुवेदीलाई नगद र सम्मानपत्रसहित ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’द्वारा सम्मान गरिएको छ । विगत तीन दशकदेखि स्तरीय रचनाहरू प्रदान गर्दै कविता, बालसाहित्य, गीत, निबन्ध र समालोचनाका दर्जनभन्दा बढी कृति प्रकाशन गरेबापत उनलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टर तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव र अध्यक्ष भई नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका लागि च्याप्टर विस्तार, आजीवन सदस्यता वृद्धि एवम् अन्तर्राष्ट्रिय स्तरका सभासम्मेलनमा संगठनात्मक कुशलता प्रदर्शन गरेबापत पदम विश्वकर्मालाई पनि सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ ।

सो अवसरमा राजमित्र स्मृति प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’ले पुरस्कृत व्यक्तित्व लालगोपाल सुवेदीले देवता र राजामहाराजाहरूको स्तुति गर्ने प्रचलनलाई मोड्दै युगसापेक्षरुपमा नेपाली साहित्यलाई उठाएको तथ्यमाथि प्रकाश पारे । उनले निकट भविष्यमै एउटा पुरस्कार बोस्टनमा र अर्को पुरस्कार अन्तर्राष्ट्रिय स्तरमा प्रदान गर्नका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

राजमित्र प्रज्ञा प्रतिष्ठानका संस्थापक तथा संरक्षक साहित्यकार सुशील नेपालले आफ्ना पिता राजेन्द्रप्रसादले २००७ सालको आन्दोलनमा भाषिक, साहित्यिक र प्रजातान्त्रिक योगदान गरेकाले यसैमा योगदान गर्ने व्यक्तिलाई प्रोत्साहित गर्नका लागि पुरस्कारको निरन्तरता दिनेतर्फ लागिपरेको धारणा प्रकट गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव गोवद्र्धन पूजा र अनेसास केन्द्रका अध्यक्ष पदम विश्वकर्माले पनि आ–आफ्नो धारणा राखेका थिए ।

मोतीरामको पदचाप पछ्याउँदै महेश्वर पन्तले गजल वाचन गरे भने रामचन्द्र पौडेल रम्घालीले समस्यापूर्ति कविता सुनाए । दीपा राई पुन, अच्युत अधिकारी, हरिमाया अधिकारी, अग्नि पराजुली, सिम्रन पौडेल, मनोज आचार्य, अनु शाह, गण्डकी पुत्र, यम पौडेललगायतले पनि कविता, गीत, गजल प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्