निबन्ध: अत्याधुनिक भलाद्मी



केशव अधिकारी
व्यक्ति, समाज, मुलुक र विश्वकै भलाइ चिताउने व्यक्ति भलाद्मी हुनुपर्ने हो जस्तो लाग्छ । तर प्राचीन भलाद्मीदेखि आधुनिक हुँदै अत्याधुनिक भलाद्मीको युगसम्म आइपुग्दा भलाद्मीको अर्थमा क्रमशः परिवर्तन भएको देखिन्छ । यसलाई आधार मानेर भलाद्मीको वर्गीकरण गर्दा प्राचीन, आधुनिक र अत्याधुनिक भलाद्मी गरी तीन कालखण्डमा विभक्त गर्नुपर्ने हुन्छ ।

पहिलो दर्जाका भलाद्मी भनेर प्राचीनकालका सिद्धपुरुष ठहरिएका, शरीरको बाहिरी आवरण हेर्दा नपत्याउँदा भए पनि भित्री तेजले धपक्क बलेका, इच्छामृत्युसम्मको शक्ति प्राप्त गरेका भलाद्मीलाई देखाउन खोजिएको छ । यस्ता भलाद्मीमा स्वर्गदेखि लिएर पृथ्वीतकका सबै प्राणीको भलो चिताउने ऋषिमहर्षिहरू पर्दथे । उनीहरु जीवको शरीर नष्ट गरेर तत्कालै जस्ताको तस्तै बनाउन सक्थे । उनीहरूमा कारणवश क्रोध उत्पन्न भयो भने ५६ करोड यदुवंशीहरू एउटै चिहान होस् भनेर श्राप पनि दिन सक्थे । राज्य, राजा वा शासक तिनीहरूकै अधिनमा हुन्थे । प्राचीन भारतवर्षको स्थापना गर्ने नीतिवान् चाणक्यले चन्द्रगुप्त मौर्यलाई राजा बनाएर आफ्नै इशारामा नचाएका थिए । पुराणका नायक पात्र रामचन्द्र, कृष्ण आदिलाई त्यस्तै शक्तिशाली भलाद्मीहरूले बाटो देखाएका थिए र आफ्ना युगका सफल नायक बनाएका थिए ।

सर्वसाधारणहरू त्यस्ता भलाद्मीदेखि डराउँथे पनि । सर्वसाधारणहरु ती भलाद्मीले आफ्नो भलाइ गर्लान् भन्ने भरोसा पनि राख्दथे । उनीहरूलाई बाहिरी कपडा वा शृङ्गारको कुनै पर्वाह थिएन तर भित्री जाज्वल्यता भने हामीले सोच्नै नसक्ने स्थानमा रहेको हुन्थ्यो । र त अहिले हामीले कहिलेकाहीँ पुराण सुनिहाल्यौँ भने उनीहरूले गरेका काम असम्भवजस्ता लागेर सीधै अस्वीकार गरी ओठ लेप्य्राउँछौँ ।

दोस्रो दर्जाका भलाद्मी आधुनिक भलाद्मी बन्न पुगे । यी भलाद्मीले आन्तरिक शक्ति र उज्यालोको बेवास्ता गरी बाह्य शृङ्गारपटारलाई अलि बढी अपनाउन थाले । फलस्वरुप उनीहरूको नायकत्वको विद्या वा ज्ञानको उज्यालो नभई छरितो कपडा र अन्य बाह्य आकर्षक सजधजले परिचय दिन थाल्यो । उनीहरूको शारीरिक सजधजको तुलनामा आफूले आर्जन गरेको विद्याको प्रमाणपत्र अलि निम्नस्तरको लागेको हुनाले त्यसलाई थोत्रे दराजको एउटा खानामा कोचेर शिरदेखि पैतालासम्मको मेलमिलापमा ध्यान पु¥याउँदै र सिँगार्दै शारीरिक भलाद्मी बन्ने होड चल्यो । राजनीतिका क्षेत्रमा हेर्ने हो भने, जसले माथिल्लो नेताको चाकरी राम्ररी गर्न सक्यो उही भलाद्मी बन्यो । साहित्यको क्षेत्रमा हेर्ने हो भने, जसले कटकटाउने नोटको बिटाको बेवास्ता गरेर दान गर्न सक्यो उही साहित्यिक भलाद्मी बन्यो ।

नेपाली साहित्यका महाकवि तथा निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको भलाद्मी निबन्धमा आधुनिक भलाद्मीका बारेमा राम्ररी विश्लेषण गर्नुभएको छ । उहाँका अनुसार राजनीतिको र नजानीकन चाकरदारीका भरमा भएको नेता, साहित्यको नाममा ‘स’ नजानीकन अर्काको साहित्यिक लेखको नक्कल उतारेर बनेको साहित्यकार आदिदेखि लिएर आफू जो लुकेर जीवहत्या गरी अघाउँजी मासु हसुर्छ, उही सबै प्राणीको भलो चिताउनुपर्छ भन्दै सहभावको कविता लेख्ने कवि आदिलाई समेत व्याङ्ग्यात्मकरूपमा आधुनिक भलाद्मीको सूचीमा राखिएको छ ।

तेस्रो दर्जाका अत्याधुनिक भलाद्मी अझ फरक छन् । आधुनिक भलाद्मीका शारीरिक पोशाक र सजधजको तुलनामा अलि फरक ढङ्गले प्रस्तुत भई समाजका हरेक महिला र पुरुषको मन हरण गर्न सक्ने भलाद्मी अत्याधुनिक भलाद्मी हुन् । अत्याधुनिक भलाद्मी बन्न विद्याको प्रमाणपत्रको त कुनै जरुरत नै पर्दैन । बरु आधुनिक भलाद्मीले त विद्याको प्रमाणपत्र अन्यत्रबाटै खरिद गरेर भए पनि हासिल गरेकै हुन्थे । तर अत्याधुनिक भलाद्मीलाई त त्यो पनि जरुरी छैन । अत्याधुनिक भलाद्मीको पहिलो पास भनेको दुवै हातका नाडीमा स्तरअनुसार प्लास्टिक वा स्टिल वा चाँदीका चुरा लगाउने अनि दाहिने हातका हरेक औंलामा स्तरनुसारकै औँठी धारण गर्नु हो । अरू पासहरूमा कानमा बाँसकादेखि सुनकासम्म कुण्डल लगाउनु मात्र होइन कि गाला, चिउँडो, आँखिभौं आदि ठाउँ–बिठाउँ मुद्रा लगाउनु पनि हो ।

अर्को सस्तो पास भनेको खाँडीबाट जिन्सको युगमा आएपछि त्यसमा शरीर देखिने स्थानमा प्वाल पार्नु वा फटाउनु हो । यसरी कपडा फटाएपछि एयर कन्डिसनले युक्त भएको कपडाले उनीहरूको शोभा बढाएको हुन्छ । यसका लागि कुनै सुचिकार आवश्यक पर्दैन । यता टाउकाको कपाल सिँगारेर अत्याधुनिक भलाद्मी बन्न खेज्नेको संख्या पनि कम छैन । प्रकृतिले दिएको केशलाई कुकुरपुच्छ«्रे्र तरिकाले कटाएर खैरो, रातो बनाइन्छ । यति भएर पनि कुनै तरुनीले उनीहरूलाई हेर्न हतारो मानेनन् भने फेरि सत्ययुग पो प्रवेश भयो कि भन्नुपर्छ ।

प्राचीन भलाद्मीले आधुनिकलाई गाली गर्थे तर आधुनिकले यो समयको माग र आकर्षणको नौलो उपाय सोचेर अत्याधुनिक भलाद्मीलाई गाली गर्दैन । बरु ऊ आफैँ अलि तन्नेरो रहेको भए अत्याधुनिक भलाद्मी बन्ने थिएँ कि भनी कल्पनाका छालमा डुब्दो होला । आखिर जे भए पनि अत्याधुनिक भलाद्मी समयको माग हो । किनभने पुराणका राम, कृष्ण, बुद्ध आदि अब पुराना भइसके । तिनका बारेमा सबैलाई थाहा भइसक्यो । अब तिनका स्थानमा पहिले प्राचीन, त्यसपछि आधुनिक, अनि त्यसपछि अत्याधुनिक भलाद्मीले आसन जमाएका छन् ।

संसार साँच्चैको हो भनेर विश्वास गर्ने दुनियाँ त्यसैमा रंगमगिएका छन् । त्यसै अत्याधुनिक भलाद्मी साँच्चैको दुनियाँको नायक भई दुनियाँलाई आफ्नो वशमा राखेर आफ्नो रूपमाथि एकपटक भए पनि नजर दिन बाध्य पार्छ । उसलाई रिस उठेर पनि श्राप दिन सक्दैन । दुनियाँ ऊ सामु नतमस्तक नै बन्दछ ।

 

प्रतिक्रिया दिनुहोस्