एन्फाद्वारा सम्झौता रद्द



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एपी–१  टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ ।  नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको हो ।

‘टेलिभिजनसँगको छलफलमै प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौँ’ एन्फा प्रवक्ता किरण राईले भने ।

गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि रु पाँच करोडको प्रायोजन सम्झौता भएको थियो जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । सहमतिअनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको थियो । सो बापत उक्त टिभीले एन्फालाई वार्षिक रु एक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो ।

यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ । ‘शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजकको रुपमा रामशर मिडिया प्रालिले एन्फालाई पहिलो वर्ष एक, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोड रुपैया दिने प्रवक्ता राईले जानकारी दिए ।

सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्