इरान विरुद्ध निर्णायक कारवाही गर्ने अमेरिकी चेतावनी



वासिङटन (एजेन्सी)
अमेरिकाले इरानलाई इराकमा कुनै प्रकारको आक्रमण गरेमा कडा कारवाही गर्ने चेतावनी दिएको छ । इरान र उसका सहयोगीका तर्फबाट इराकमा कुनै हमला भएमा उ विरुद्ध निर्णायक कारवाही गर्ने अमेरिकाले बताएको छ ।

इराकमा आफना कुनै पनि नागरिकलाई चोट पुर्याएमा इरान विरुद्ध कडा तथा निर्णायक कारवाही गर्ने अमेरिकाले बताएको छ । ह्वाइट हाउसका तर्फबाट जारी गरिएको एक बयानमा इरानमाथि बसरामा अमेरिकी कन्सुले र बग्दाद स्थित दुतावास नजिकै भएको हमला नरोकेको प्रेस सचिवले आरोप लगाएका थिए ।

ह्वाइट हाउसले भनेको छ– इरानले आफना छद्म शक्तीद्वारा हुने गरेका हमला रोक्न प्रयास गरेन । उनीहरुलाई इरानले नै पैसा र तालिम दिएको हो । यो बाहेक हतियार पनि दिइरहेको छ ।

यदि अमेरिकी सरकारका कुनै ब्यक्तीलाई कुनै चोट पुगेमा वा कुनै नोक्सान पुर्याएमा त्यसको जिम्मेवार इरान हुने विज्ञप्तीमा उल्लेख छ । त्यस्ता कुनै घटना हुन गएमा अमेरिकी नागरिकको ज्यान बचाउन अमेरिकाले निर्णायक र कठोर कारवाही गरिने – ह्वाइट हाउसको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शुक्रबार बग्दादको ग्रिन जोन इलाकामा तीन मोर्टार बम फेला परेको इराकी सेनाले बताएका थिए । यद्यपी ती बमबाट कुनै नोक्सान नभएको जनाइएको छ । विगत केही बर्षमा सोही इलाकामा मोर्टार आक्रमण भएको हो । उक्त इलाकामा संसद, सरकारी भवन र सबै देशका दुतावास रहेका छन् ।
बसरामा विमानस्थल नजिकै अमेरिकी कन्सुलेटमा शनिवार रकेट आक्रमण भएको थियो । तर उक्त आक्रमणमा कुनै प्रकारको क्षति पुगेको समाचार आएको छैन ।

प्रतिक्रिया दिनुहोस्