परिवारवादको राजनीतिमा कांग्रेस



-खेमराज निरौला
२०७४ सालमा सम्पन्न मुलुकका तीन तहका निर्वाचनमा यो भन्दा अगाडिको सबै खाले निर्वाचनमा आफूलाई पहिलो र जनताका समस्यासँग नजिक भएको दाबी गर्ने नेपाली कांग्रेसको लज्जास्पद पराजयले आमकार्यकर्ता र नेतृत्वपंक्तिबीच गहिरो असन्तुष्टि र आरोप–प्रत्यारोपको शृङ्खला चलिरहेको छ । यो असहमति र आरोपको शृङ्खलाले नेपाली कांग्रेसको निर्वाचनपश्चात् सम्पन्न केन्द्रीय कार्य समितिको बैठकमा मुख्यतया पार्टीको पराजयको कारणबारे बहस भयो ।

जनतासामु नेतृत्वले आफ्ना एजेन्डा राख्न नसकेर हो वा उमेद्वार छनौटमा विवेक नपुग्दा हो अथवा वामगठबन्धन प्रमुख कारण हो भन्ने विषयमा निकै चर्को बहस हुन पुग्यो । यसरी आफ्नो लज्जास्पद हारको कारण खोजी पार्र्टीलाई थप सशक्त र एकढिक्का बनाएर संसद्मा प्रमुख प्रतिपक्षीको हैसियत देखाउने निर्णयका साथ बैठक सम्पन्न भएको थियो ।

वास्तवमा कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी हारको कारण खोजी त्यसलाई समाधान गर्ने उद्देश्यका साथ बोलाइएकोमा पौडेल पक्षका केही केन्द्रीय सदस्यहरुले तिनै तहका निर्वाचनम पार्टी हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने अडान राखेपछि बैठक लम्बिएर गएको थियो । देउवाको कार्यशैलीका कारण पार्टी दयनीय अवस्थामा पुगेको पौडेल खेमाको आरोप छ । तर उक्त आरोप स्वीकार्न देउवा तयार नहुँदा नेपाली कांग्रेसभित्र चुनावी हारको मुद्दाले निकै खैलाबैला मच्चाएको थियो ।

वास्तवमा यति लामो इतिहास बोकेको विभिन्न कालखण्डका व्यवस्था परिवर्तनका आन्दोलनहरुमा अग्रणी मोर्चामा आफूलाई अब्बल साबित गर्ने पार्टीको दाबी गर्दै आएको कांग्रेसका लागि चुनावी हारको विषयको समीक्षा, जुन गाम्भीर्यताका साथ होला भनेर अपेक्षा गर्ने कांग्रेसीजनमा एक प्रकारको नैराश्यता र हीनताबोधको सन्देश प्रवाह मात्र गरेको जस्तो देखियो । द्विपक्षीय नेताहरुबीच एक–अर्कामाथि आरोप–प्रत्यारोपको ताण्डवले वास्तवमा कांग्रेसको आन्तरिक लोकतन्त्रले बाटो बिराएको त होइन भन्ने आशंका आमजनमानसमा उब्जाएको छ ।

कोइराला, निधी, सिंह र देउवा परिवार आ–आफ्ना पारिवारिक विरासत जोगाउने चेष्टामा लागिरहेका छन् । पारिवारिक उत्तराधिकारीको जिम्मेवारी पाएका यी नेताहरुले पार्टी इतिहासकै कठिन मोडमा आइपुगेको वास्तविकतालाई बिर्सिएका छन् । न त यी परिवारको उत्तराधिकारीहरुले पार्टीलाई अब्बल बनाउन सके, न असन्तृष्ट नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न नै सके । यस पार्टीको भविष्य अझै अन्योल छ ।

केही समयअघिदेखि पार्टी सभापति निकट रहँदै आएका महामन्त्री सशांक कोइरालालगायत देउवा निकट केन्द्रीय पदाधिकारीहरु पौडेल पक्षले लगाएजस्तो आरोपभन्दा पनि पूरा केन्द्रीय समिति नै जिम्मेवार छ भन्नुले चुनावी हारको अपजस सबैमा बाँडेर उम्किने प्रवृत्तिले कांग्रेसलाई समय र परिस्थितिले कहाँँँँ पु¥याउने हो, चासोको विषय बनेको छ ।

केन्द्रीय कमिटीजस्तो शक्तिशाली सर्वाेच्च निकायमा पनि पार्टी हारको विषयमा गम्भीरतापूर्वक छलफल नहुनु र आपसी दोषारोपणमै समय खर्चिनुले कांग्रेसमा विचलनको शंका गर्ने प्रशस्तै ठाउँहरु भेट्न सकिन्छ ।
त्यस्तै आगामी मंसिर ५ देखि हुने भनिएको महासमिति भेलाको विषयले पनि कांग्रेसमा गुटगत राजनीतिले गतिलोरुपमा प्रवेश पाएको देखिन्छ ।

महासमितिको भेलाले कांग्रेसलाई पुनर्जीवन प्रदान गरी नयाँ नेतृत्वको छनौटमार्फत आगामी दिनमा सदन र सडकबाट समेत जनसरोकारका यावत विषयमा सशक्त प्रतिपक्षको हैसियतमा सकारात्मक एवम् परिणममुखी भूमिकाको अपेक्षा गरिएको छ । साथै पार्टीको आन्तरिक शक्तिको क्षयीकरण हुँदै गएको सन्दर्भमा पनि उक्त महासमितिको भेलाले कांग्रेसले आज सामना गरिरहेको चुनौतीलाई समेत सम्बोधन गर्ने अपेक्षा लिएका नेता–कार्यकर्ताको मनोविज्ञानमा आन्तरिक गुटबन्दीको राजनीतिले निराशा थपेको छ ।

वर्तमान सभापति शेरबहादुर देउवा अहिले बहुत ठूलो तनाव र दबाबमा देखिन्छन् । खासगरी पार्टीले भोगेको पराजयको प्रमुख कारण देउवाको अक्षमताले गर्दा हो भन्नेहरुको पनि कांग्रेसमा ठूलै पंक्ति छ । देउवाको अक्षम नेतृत्वले गर्दा कांग्रेस इतिहासकै संगीन मोडमा आइपुगेको आमकार्यकर्ताको बुझाइ छ । पार्टी पंक्तिमा देउवाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि एवं खटपटी छ, जुन कुरा देउवाले पनि बुझेकै हुनुपर्दछ । तर पनि पार्टीको सम्पुर्ण शक्ति र स्रोत व्यक्तिगत स्वार्थ र गुटगत राजनीतिलाई बलियो बनाउन दुरुपयोग गरिएको भन्ने आरोपबाट देउवा निष्कलंक हुने अवस्था देखिँदैन ।

अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाको प्रवृत्ति र पार्टी सञ्चालनमा अपनाएको रबैयाप्रति कटु आलोचक छन् । पार्टीमा पावर सेयरिङको विषयलाई उठान गरेर पौडेलले हरेकजस्तो भेला बैठकमा देउवाप्रतिको तिक्तता व्यक्त गर्न पछि पर्दैनन् । देउवाको पार्टीमा आफू मात्र हिरो बनिराख्ने प्रवृत्तिको आलोचना पौडेलले धेरै पहिलेदेखि गर्दै आएका हुन् । तर देउवाका अगाडि पौडेलको आवाज शक्तिहीन बन्न पुगेको छ ।

पौडेलको पार्टीका आन्तरिक कमिटीहरुमा भएको कमजोर संगठनले देउवालाई आफ्नो अनुकूल निर्णय गर्नबाट रोक्ने तागत पनि देखिँदैन । पौडेलको पार्टीमा ४० वर्ष पुरानो योगदान र बलिदानीपूर्ण इतिहास भए तापनि देउवाले जिम्मेवारी हस्तान्तरण गर्ने कुरामा भने न त पौडेल विश्वस्त छन्, न देउवाले नै पौडेललाई पत्याएका छन् । यस कुरामा भने देउवा विस्वस्त छन् कि पार्टीमा आफू दिन–प्रतिदिन अलोकप्रिय हुँदै गएको र एक्लो हुँदै गएको । तर पनि नेतृत्वका लागि अन्तिम एकपटक लडाइँको मैदानमा नउत्रिएसम्म देउवाबाट नेतृत्व सहजै हस्तान्तरण हुने देखिँदैन । देउवालाई थाहा भएकै हो ।

आसन्न महासमिति भेलामा आफ्ना विरुद्ध मोर्चा खडा हुँदै छ । त्यसैको आशंकाले महासमितिको भेलाको मिति सार्दै आफ्नो स्थिति बलियो बनाउने रण्नीतिमा देउवा लागेका छन् । तर अब प्रश्न उठ्न सक्छ– के देउवाले आफूविरुद्ध हुँदै गरेको मोर्चाबन्दीलाई महासमिति भेलासम्ममा आफ्नो पक्षमा ल्याउन सक्लान् त ? आन्तरिक पार्टी शक्तिमा विभिन्न समूहहरुको विकास भइरहेको परिप्रेक्ष्यमा ? यो अवस्थामा भने देउवाका लागि महासमितिको भेला एउटा कडा चुनौतीका रुपमा उभिएको छ ।

देउवाको स्वेच्छाचारिता र मनोमानी निर्णयले पपुलारिटी हैन, पार्टीभित्रै शत्रु कमाउने मोडमा देउवा पुगेका देखिन्छन् । शुरुका वर्षहरुमा देउवालाई प्रकाशमान सिंह, प्रकाशसरण महत, केही हदसम्म कृष्णप्रसाद सिटौलासम्मले ग्रिन सिग्नल दिँदा शक्तिशाली देखिन्थे । कोइराला खेमाबाट सिटौलालाई आकर्षित गर्दा देउवाको शक्ति मजबुत भएको देखिन्थ्यो ।

यसले कमजोर जनमतमा देखिएका रामचन्द्र पौडेलको कमजोर चुनौतीले फरक नपार्ने अवस्था थियो । यसका अतिरिक्त पार्टीको सुसुप्त शक्तिको रुपमा रहेका केही युवानेताहरु जस्तै– गगन थापा, चन्द्र भण्डारी, रामहरि खतिवडा, बद्री पाण्डे, धनराज गुरुङ, गुरुराज घिमिरेलगायतका युवानेताहरु पार्टीको उदयमान युवानेताका रुपमा चिनिएका शक्ति हुन् । जो पार्टीमा मौलाएको गुटबन्दी र भागवण्डाको राजनीतिलाई अन्त्य गरी कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाएर पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने एजेन्डा बोकेर हिँड्ने युवानेताहरु कसको पोल्टामा पर्नेहुन् ? त्यसैमा कांग्रेसको भविष्य निर्भर गर्छ ।

पार्टीमा स्पष्ट वक्ता एवं आफ्ना विचार सटिक सरल एवम् स्पष्टरुपमा राख्न सक्ने युवानेताका रुपमा चिनिएका विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ताको जिम्मेवारीमा थन्क्याएर देउवाले एक तहको सफलता प्राप्त गरेका छन् । पार्टीको सैद्धान्तिक, वैचारिक संगठनात्मक एवम् बौद्धिक तहको नेतृृत्व गर्ने तमाम युवा नेता–कार्यकर्ताको भावना विपरीत कांग्रेस हिँड्ने हो भने पुरानै हैसियतको हैन झन् टिठ लाग्दो अवस्थामा नपुग्ला भन्न सकिन्न ।

कांग्रेसका स्थानीय समिति एवम् भ्रातृ संगठनहरुमा सैद्धान्तिक विचार, दार्शनिक सुझबुझ एवम् संगठनात्मक जोश भएका युवा नेता–कार्यकर्ताको कमी छ । अझ स्थानीय र प्रदेशसभाको निर्वाचनपश्चात् उनीहरुको आवाज झन्–झन् कमजोर बन्दै गएकोतर्फ नेतृत्वले सोच्नुपर्ने बेला आएको छ । सांगठनिक वैचारिक एवम् रणनीतिक आधारमा हेर्ने हो भने पनि देउवा पार्टीभित्रको आन्तरिक शक्ति संघर्षकै कारणले मात्र शक्तिशाली देखिन्छन् ।

न त उनको बोल्ने कला छ, न संगठन गर्ने क्षमता, न त विचारले कसैलाई आकर्षित नै गर्न सक्ने कला छ । यसले पनि देउवालाई अब आउने कुनै पनि खाले शक्ति संघर्षबाट निर्विकल्प नहुने देखिन्छ ।

महासमिति बैठकको मिति तय भएसँगै कांग्रेसमा फेरि पनि परिवारवादको राजनीतिले प्रवेश पाएको छ । यसले सच्चा नेता एवम् कार्यकर्ता रणभुल्लको अवस्थामा देखिन्छन् । कोइराला, निधी, सिंह र देउवा परिवार आ–आफ्ना पारिवारिक विरासत जोगाउने चेष्टामा लागिरहेका छन् । पारिवारिक उत्तराधिकारीको जिम्मेवारी पाएका यी नेताहरुले पार्टी इतिहासकै कठिन मोडमा आइपुगेको वास्तविकतालाई बिर्सिएका छन् । न त यी परिवारको उत्तराधिकारीहरुले पार्टीलाई अब्बल बनाउन सके, न असन्तृष्ट नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न नै सके । यस पार्टीको भविष्य अझै अन्योल छ ।

प्रतिक्रिया दिनुहोस्