सर्पको टोकाइबाट यसरी बचौं



सर्पको टोकाइबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ । वास्तवमा जिउँदो रहनु सामान्य कुरा होइन । प्राणीजगत्मा आफूलाई जोगाउन अर्को प्राणीबाट जोगिनुपर्छ । अर्कोबाट जोगिन हरेक प्राणीले संघर्ष गर्नुपर्छ, जीवजनावरले पनि, मान्छेले पनि ।

मान्छेसँग उच्च चेतना छ । जीवजनावरसँग छैन वा थोरै छ । त्यसैले मान्छेले मान्छेबाट बच्नु त छँदै छ, जीवसँग पनि बच्नुपर्छ । ती जंगली हुन् वा घरेलु, ती साना हुन् वा ठूला । त्यस्ता जीवहरुमध्ये सर्प अति नै खतरनाक हुन्छ । यसले मानिसलाई डसे तुरुन्तै मृत्यु हुनसक्छ । निकै विषालु सर्पबाट जोगिन अति आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१५ को प्रतिवेदनानुसार नेपालमा वार्षिक कम्तीमा २ सय जनाको ज्यान सर्पको डसाइ (सर्पदंश)को कारण जाने गरेको छ । सर्पदंशको सही उपचार पद्धति अवलम्बन नगरेकै कारण स्वास्थ्य क्षेत्रको जटिल समस्याका रुपमा रहँदै आएको विज्ञहरुको अध्ययनले देखाएको छ । सर्पले डसेको भन्ने पुष्टि गर्नतर्फ लाग्नुभन्दा पनि बिरामी वा प्रत्यक्षदर्शीको भनाइलाई नै आधार मानेर ‘एन्टी स्नेक भेनम’ अर्थात् प्रतिविष तत्काल शुरु गर्न ध्यान नदिएकै कारण समस्या विकराल हुने गरेको देखिन्छ ।

नेपाल सरकारले सर्पदंश व्यवस्थापनका लागि आर्थिक वर्ष २०५६÷५७ देखि देशभर स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको छ ।

तर पनि उल्लेख्य उपलब्धि हासिल हुन सकेको छैन । समस्या बढाउन मानवीय, प्राविधिक, व्यवस्थापकीयजस्ता विभिन्न पक्ष जिम्मेवार देखिन्छन् । सर्पले डसेको भनेर बिरामी आएपछि तत्काल प्रतिविष शुरु गर्दा फरक पर्दैन । तर उसलाई चिकित्सककै निगरानीमा राख्न भने आवश्यक पर्छ । प्रतिविष दिइएका केही बिरामीलाई एलर्जीको समस्या पनि देखिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ ।

विषालु सर्पका प्रजातिमध्ये करेत र गोमनका प्रजाति चितवनमा अधिक पाइन्छन् । करेतका ६ समूह प्रजाति र गोमनका ३ प्रजातिले डसेका बिरामीलाई तत्काल अस्पताल पु¥याउन नसके अवस्था जोखिममा पर्न सक्छ । सर्पले डसेको बिरामीलाई देखिने केही सामान्य लक्षणलाई ध्यान दिने र प्राथमिक उपचार गर्दै अस्पताल प¥याए जोखिम कम हुन्छ ।

सर्पले डसेको बिरामीले बमन गरेको भए, त्यो डसाइ करेत सर्पकै हो भन्ने बुझ्नुपर्छ । आँखा लठ्ठिँदै जाने, जिब्रो लरबराउनेजस्ता लक्षण देखा परे अस्पताल पु¥याउँदासम्म बिरामीलाई अचेत हुनबाट रोक्न निरन्तर बोलाइराख्न र जागा बनाइराख्नुपर्छ ।

नेपालको मौसमको अनुकूलताले तराईमा मात्र नभई केही पडाडी इलाकामा पनि सर्पको लागि राम्रो बासस्थान उपलब्ध गराएको पाइन्छ । समुद्री सहतबाट १५ सय मिटर उचाइसम्म पनि करेत सर्प भेटिएका छन् ।

गोमन सर्पका केही समूह प्रजाति समुद्री सहतबाट ३२ सय मिटर उचाइसम्म पनि भेटिएका छन् । यसबाट बच्न गर्मी मौसममा सकभर सम्भावित ठाउँमा हिँड्दा सचेतता अपनाउने, रातको समयमा पनि उज्यालोको व्यवस्था गरेर हिँड्ने, यदि सर्पले डसिहाले बिरामी नआत्तिने, आफूलाई सर्पले डसेको बारे नजिकै रहेका आफन्तलाई खबर गर्ने, बिरामीलाई प्राथमिक उपचार गर्दै जति सक्दो छिटो सर्पदंशका लागि आवश्यक औषधि प्रतिविष उपलब्ध स्वास्थ्य संस्थामा लैजाने गर्नुपर्छ ।
– सम्झना कार्की, रौतहट ।

प्रतिक्रिया दिनुहोस्