कुकुरले लखेटेर मा¥यो चित्तल



हेटौंडा ।
मकवानपुरका विभिन्न स्थानमा पछिल्लो समयमा जंगली जनावर देखापर्ने क्रम बढेको छ । संरक्षित जंगलहरु घना भएसँगै जंगली जनावरहरु बढी देखा पर्न थालेका हुन् ।

मकवानपुरमा बाघले मान्छे मार्ने र मान्छेले बाघ मार्ने क्रम शुरु भएको अवस्थामा जनावरबीच पनि द्वन्द्व देखिएको छ । मनहरीमा बाघले मान्छे मारेको केही समयपछि पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको चित्तललाई कुकुरले लखेटेर मारेको छ ।

मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित आशीर्वाद होटलअगाडि धानखेतमा मरेको अबस्थामा बिहीबार विहान एउटा भाले चित्तल भेटिएको ज्यामिरे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह सचिव दीपक पुलामीले बताउनुभयो ।
विहान झिसमिसेमै कुकुरले चित्तल लखेट्दै ल्याएकोमा धान खेतमा भास्सिएपछि टोकेर मारेको पाइएको सचिव पुलामीले बताउनुभयो । आधा दर्जनजति कुकुरले चित्तललाई एकसाथ आक्रमण गरेको थियो । मृत फेला परेको चित्तलको तौल करिब ७० केजी रहेको बताइएको छ ।

इलाका बन कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय मनहरी तथा ज्यामिरे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधिको रोहबरमा मुचुल्का उठाएर मृत चित्तल गाडिएको सचिव पुलामीले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकाकै ज्यामिरे क्षेत्रमा बाघ देखापर्न थालेको छ । गाउँनजिक जंगलमा बाघ देखापरेपछि स्थानीय त्रसित छन् । यसअघि मनहरीमा बाघले एक जनालाई आक्रमण गर्दा मृत्यु भएको थियो ।

मकवानपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज बाघको बासस्थान रहेको प्रमुख राष्ट्रिय निकुञ्ज हो । पछिल्लो समय बाघको उचित बासस्थान र आहार अभावका कारण बाघ मानववस्तीमा प्रवेश गर्ने गरेको छ । जसका कारण मानिस र बन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ । उही बेला संरक्षित बन्यजन्तु घरपालुवा जनावरबाट असुरक्षित हुन थालेका छन् ।

जंगलमा रमाउने बाघ बेला÷बेलामा मानवबस्तीमा पस्ने गर्दा मानवीयसँगै पशुचौपाया क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०६८÷०६९ मा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो दुई जना सख्त घाइते भएको सरकारी तथ्यांक छ । बाघ बेला÷बेलामा मानवबस्तीमा पसेर घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको छ ।

कतिपय अवस्थामा बाघको बासस्थानमा बलियो बाघले प्रभुत्व जमाउने हुँदा कमजोर बाघ त्यहाँबाट बिस्थापित भएर निकुञ्जबाट गाउँ प्रवेश गर्ने गरेको छ । जंगलमा आफ्ना क्षेत्र ओगट्न नसक्ने बुढो, कमजोर र अर्धवयस्क बाघ जंगल बाहिर निस्कन बाध्य हुने र शिकारका लागि घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको छ ।

बाघको संख्या बढ्दै गए मनहरी क्षेत्रमा बाघको आक्रमणका घटना बढ्नसक्ने भन्दै निकुञ्ज आसपास स्थानीय चिन्तित छन् । सरकारी बाघ संरक्षण रणनीतिमा जनावर–मानवबीच द्वन्द्व न्यूनीकरण गर्ने प्रभावकारी उपायमा ध्यान दिनु आवश्यक रहेको प्रभावित क्षेत्रका स्थानीयको सुझाव छ ।

बन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका अनुसार देशभर जनावरको आक्रमण बढ्न थालेको छ । जंगली हात्ती, चितुवा, बाघ र गंैडाको आक्रमणमा परेर पनि हरेक वर्ष कयौंले ज्यान गुमाउने गरेका छन् ।

जनावरको आक्रमणबाट मानिसले जनधन गुमाउनुपर्ने अबस्था छ भने उनीहरुले भौतिक क्षति गरिरहेका छन् । जनावर नियन्त्रणका लागि केही स्थानमा विद्युतीय तार प्रयोग गरिए पनि क्षति कम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्