प्रियंका र प्रमोदको दृश्यले फेरि विवाद बोर्डद्वारा हटाउन पत्राचार



कथा काठमाडौं नामक फिल्मका लागि प्रियंका कार्की र प्रमोद अग्रहरिले दिएको अन्तरंग दृश्यको विवाद चुलिएको छ।चलचित्र विकास बोर्डले कथा काठमाडौंको प्रोमोमा समेत समावेश गरिएको सो दृश्यलाई इंगित गर्दै अश्लील भएकाले युट्युबबाट हटाउन निर्देशन दिएको छ। युटुबमा अश्लील दृश्यसहितको प्रोमो प्रदर्शन भइरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो। बोर्डले फिल्म निर्माण कम्पनी आहान फिल्मस्लाई पत्राचार गरी यूआरएल समेत उल्लेख गर्दै सो प्रोमो युट्युबबाट हटाउन निर्देशन दिएको त्यसो नगरिए चलचित्र नियमावलीअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

 

बोर्डले पत्राचारमा उल्लेख गरेको यूआरएल भने कथा काठमाडौंको अफिसियल च्यानल हाइलाइटस नेपालको नभएको फिल्म निर्माण कम्पनीले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानलमार्फत अपलोड गरिएको र स्वयं च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरेको भिडियोलाई आधार मान्दै कारबाहीसमेत गर्न सकिने गरी बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपत्ति जनाएको छ। त्यस किसिमका अन्य युट्युब च्यानल र केही अनलाइन पोर्टलमा अपलोड गरिएको सामग्री ती निर्माण पक्षले आपत्ति जनाउँदै यसअघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदनसमेत दिइसकेको जनाइएको छ।

 

‘गीतको दृश्यलाई मात्र आधार मानेर जुन चर्चा परिचर्चा छ, त्यसकै आधारमा फिल्मको मूल्यांकन गरिनुहँुदैन भन्ने टिमको मान्यता हो। फिल्ममा हामीले तीन कथा र पात्रलाई चित्रण गरेका छौं। काठमाडौंको पात्र देखाएका छौं भने त्यसको गहिराइमा पुग्नुपर्छ भन्ने मेरो निष्कर्ष हो। फिल्म हेरेपछि त्यो दृश्य कथाअनुसार अश्लील र भद्दा लागेमा म त्यसको अपजस लिन तयार छु’, फिल्मकी निर्देशक संगीता श्रेष्ठ भन्छिन्– ‘मलाइ के लाग्छ भने फिल्म हेरिसकेपछि दर्शकले मैले उठाएको विषयमा बहस गर्न बाध्य हुनुहुनेछ। म आफैंले यस किसिमको दृश्य हटाउन सम्बन्धित निकायमा निवेदन दिएर आग्रह गरिसकेकी छु, तर बोर्डले हामीले अपलोड नगरेको दृश्यलाई आधार मान्दै हामीलाई कारबाहीसमेतको चेतावनीसहित पत्राचार गर्दा हामी केही निराशसमेत भएका छौं।’

 

सञ्चारकर्मी संगीता श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको फिल्म कथा काठमाडौं पछिल्लो समय यही प्रियंका र प्रमोदबीचको यही अन्तरंग दृश्यका कारण एकसाथ चर्चा र विवादमा छ। आगामी असोज १२ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान डीएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरिको मुख्य भूमिका छ। आहाना फिल्मस्को ब्यानरमा विजय राइद्विारा निर्मित फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा छिन्। फिल्म लुजा सिंहले खिचेका छन् भने मित्र गुरुङले सम्पादन गरिरहेका छन््।

प्रतिक्रिया दिनुहोस्