एपिएफलाई उपाधि



पोखरा, (नेस)
एपिएफले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ । बुधबार भएको फाइनलमा न्यु डामयण्ड एकेडेमीलाई पराजित गर्दै बिभागिय क्लबले लगातार चौथो पटक उपाधि चुमेको हो । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेलमा एपिएफले पहिलो सेटमा २५–२० जित निकालेको थियो ।

दोस्रो सेटमा प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनले पुनरागमन गर्दै डायमण्डले २५–१८ को जित निकालेपनि तेस्रो र चौथो सेटमा २५–१७ र २५–२१ ले गुमाए पछि एपीएफले लगातार चौथो पटक उपाधि जिनेको हो । न्यु डायमण्ड पहिलो देखि तेश्रो संस्करणको उपाधि बिजेता टिम हो ।

बर्षाले प्रभाबित पारेको फाईनल खेलमा एपिएफकी सरस्वती चौधरीले २३ स्कोरको योगदान दिदा न्यु डायमण्डकी प्रतिभा मालिले ४० अंक जोडेकी थिईन् । न्यु डायमण्डका प्रशिक्षक कुमार राइले बर्षाले खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसक्दा हार ब्यहोरेको धारणा ब्यक्त गरे ।

बिजयी टिम एपिएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले पनि बर्षाले समस्या पारेपनि खेलाडी जित निकाल्न सफल भएको बताए । यस्तै, त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।
फाइनलअघि भएको खेलमा चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

उनले ५ हजार ५ सय नगद प्राप्त गरिन् । यस्तै डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर,डायमण्डकै सलिना श्रेष्ठ,उत्कृष्ट डिफेन्स,एपिएफकी हिरा केसी उत्कृष्ट क्वीकर,एपिएफकी शशी चौधरी उत्कृष्ट सेटर र आर्मीकी सुनिता खण्ड्का उत्कृष्ट ब्लकर घोषित भइन् ।

तिज महोत्सवका अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगिताको बिजेता एपिएफले १ लाख,दोस्रो भएको न्यु डायमण्ड एकेडेमीले ६५ हजार रुपैयाँ र तेसो भएको त्रिभुवन आर्मीले २५ हजार पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा दुइ बिभागिय क्लब एपिएफ र आर्मी गरी ५ टोली सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्