चाडबाडमा मौलाएको विकृति



वर्ष दिनभरिको पीडा भुलेर महिलाहरुले खुशी साटासाट गर्ने पर्वको रुपमा रहेको नेपाली महिलाको महान् पर्व हरितालिका तीज भर्खरै मनाइएको छ । सबैजसो जिल्लामा विभिन्न संघसंस्था तथा समूहहरुको भेला हुने र दर खुवाउने कार्यक्रमको आयोजना पनि गरिएका छन् । वर्षात्पछिको मिलन र समूह तथा संगठनहरुको वार्षिक कार्यक्रमलाई समेत एकै ठाउँमा राखेर दर खुवाउने अनि आपसी भावना आदानप्रदान गर्ने कार्य आफैंमा सकारात्मक कुरा हो । दर खाने कार्यक्रम जुन उद्देश्यको लागि आयोजना हुने गरेको छ त्यो कार्यक्रम सम्बन्धित विषयभन्दा विकृत हुँदै गएका घटना पनि सार्वजनिक भैरहेका छन् ।

पछिल्लो समय दर खाने बहानामा गहना तथा कपडा प्रदर्शनले बढी प्राथमिकता पाएको देखिन्छ । वर्षभरि जन्मघर र कर्मघरको बीचको फरकलाई एक–आपसमा जम्मा भएर वेदनाको साटासाट गर्ने पर्वका रुपमा परापूर्वकालदेखि चल्दै आएको चलनलाई नयाँ पुस्ताले परिमार्जन गर्ने बहानामा अव्यावहारिक पर्वको रुपमा मनाउन लागेका छन् ।

मौलिक गीतहरुको ठाउँमा विदेशी गीतहरुको मञ्चन, तडकभडक र क्षमता तथा सम्पत्तिको प्रदर्शन गर्ने पर्वका रुपमा विकास भैरहेको यो पर्वको महत्वलाई जोगाउनु हाम्रो कर्तव्य हो । पुराना चालचलन र रीतिरिवाजलाई नयाँ पुस्ताले पछ्याउने चाहना राख्दैनन् । त्यही कारणले नै तीज, दशैं, तिहारजस्ता सबै पर्वको महत्व हराउन थालेको छ । पर्वमा विदेशी प्रभावसमेत देखिएको छ ।

तीजलाई प्रयोग गरेर देखाइने तडकभडकका कारण एकातर्फ कमजोर आर्थिक अवस्था भएकाहरुको यो पर्वप्रति वितृष्णा पलाउँदै गएको छ भने अर्कोतर्फ यो पर्व मनाउने हुनेखानेहरुको तडकभडक बेकामी चिजहरुमा खर्च गराइरहेको छ । गहना र कपडाको प्रदर्शनका कारण आपराधिक मानसिकता भएकाहरुका लागि चोरी तथा लुटपाटको वातावरणसमेत सिर्जना हुने गरेको छ ।

तीजमा खाइने दर देखाउनका लागि हैन, यो त सम्बन्धहरुलाई बलियो बनाएर भावना साट्नका लागि हो । दर खाने बहानामा तीज आउनुभन्दा एक महिनाअगाडिदेखि नै शुरु हुने दरखाने कार्यक्रमले गर्ने समयको बरबादी अर्को पक्ष हो । समयानुकूल चाडपर्व मनाउनु स्वाभाविक पक्ष हो, पर्व मनाउँदा हुनेखाने र हुँदा खानेबीचको खाडल गहिरिँदै जानु भनेको हाम्रो संस्कृतिभित्रको विकृत रुप हो । चाडपर्व गर्वले मनाउने वातावरण सिर्जना गरौं ।

चाडपर्व मनाउँदा देखाइने तडकभडक र असीमितरुपमा खर्च हुने सम्पत्तिलाई आयमूलक क्षेत्रमा खर्च गर्ने गरौं । चाडपर्वलाई रहर र बाध्यताले भन्दा पनि गौरवले मनाउने गर्ने गरी संस्कार परिवर्तन गर्न सकियो भने हाम्रो संस्कृति संरक्षणसँगै मौलिक पर्वहरुमा विकृति भित्रिन पाउँदैन । अब आउँदो दशैं, तिहार र अर्को वर्षको तीज विकृतिरहित संस्कृतिका रुपमा मनाउन सबैमा जागरुक गराऔं ।
–सरोज विक, टोखा ।

प्रतिक्रिया दिनुहोस्