जनप्रतिनिधिलाई श्रमदान अनिवार्य



हेटौंडा ।
नेपालमा सम्भवतः पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्नुपर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले वडाका योजनाहरु पास भएकोमा जनप्रतिनिधिले अनिवार्य महिनामा कम्तिमा ३ दिन श्रमदान गर्नुपर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंका अनुसार गाउँपालिकाबाट वडाका योजनाहरु पास भए छिटो तथा जनप्रतिनिधिको रोहबरमा काम होस् भन्ने उद्धेश्यसाथ वडाका जनप्रतिनिधिले अनिवार्य कम्तिमा ३ दिन श्रमदान गर्नुपर्ने निर्णय गरिएको हो ।

पछिल्लो समय श्रम गर्ने रुचिमा कमी आएको अवस्थामा उक्त गाउँपालिकाले यस्तो अनुकरणीय निर्णय गरेको हो । यसको प्रभावस्वरुप १ देखि ८ नम्बर वडाका मनोनित ४ सहित सबै ४४ जनप्रतिनिधि विकासका लागि श्रममा जुट्नेछन् ।

गाउँ कार्यपालिकाले गाउँपालिका क्षेत्रभित्रका नम्बरी जग्गा बाँझो राख्न नपाइने निर्णय गरेको प्रशासकीय अधिकृत भीम परियारले बताउनुभयो । बाँझो रहेका जग्गा कार्यविधि बनाएर उपयोगमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जसका लागि सूचना जारी गर्ने, त्यस्ता जग्गाको तथ्यांक संकलन गर्ने र खाली जग्गामा खेती गर्नेलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

खेती गर्न सूचना जारी गर्ने, त्यसपछि फलफुल वा अन्य बोटबिरुवा लगाउन आग्रह गर्ने र यदि त्यसो नगरे जरिवाना गर्ने गरी कार्यविधि बनाइने बताइएको छ ।

गाउँ कार्यपालिका बैठकले कृषि पशु फर्म दर्तामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कृषि व्यवसायलाई व्यबस्थित र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष हुमागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्