सिमरा विमानस्थलमा रात्री उडान शुरु हुने



बारा ।
सबै पुर्वाधार पुरा गरेर सफल परीक्षण उडान गरेको ४ वर्षपछि बाराको सिमरा विमानस्थलमा भदौैं ३१ गतेबाट नियमित रात्री उडान शुरु हुने भएको छ । निजी विमान कम्पनीहरूले रात्री उडानको लागि प्राधिकरणसँग अनुमति तालिका लिएपछि सिमरा विमानस्थलमा रात्री उडान निश्चित भएको हो ।

 

देशकै ठूलो औद्योगिक तथा व्यापारिक क्षेत्रमा अवस्थित सिमरा विमानस्थलमा रात्रिकालिन उडानको लागि करोडौं रुपैया खर्च गरेर ४ वर्षअघि बनाइएको पुर्वाधार उपयोग विहीन अवस्थामा रहदै आएको थियो । नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफलेले रात्रि उडानको लागि निजी विमान कम्पनी र विमानस्थल कार्यालयबीच संझौता भइसकेकाले अब नियमित उडान हुने बताए ।

सिमरा विमानस्थलमा नियमित रात्रिकालीन उडान र अवतरणका लागि २० करोड रुपैया खर्चेर भौतिक पूर्वाधार तयार गरिएको भएपनि निजी विमान कम्पनी र विमानस्थल कार्यालयबीच सम्झौता हुन नसक्दा उडान सुचारु हुन सकेको थिएन । ‘कार्यालयले उडानका लागि आवश्यक वातावरण तयारी गरी दिने हो, बोलाउने होइन,’ प्रमुख काफलेले भने, ‘दुबै पक्षबीच सहमति भएपछि अब नियमित उडान हुन्छ ।’ रात्रिकालिन उडान सेवापछि यस क्षेत्रका व्यवसायी र सर्वसाधारणले प्रत्यक्ष फाइदा लिने उनले बताए । पछिल्लो समय विमानस्थलमा निजी कम्पनीले फाट्टफुट्ट रुपमा रात्रि उडान पनि भर्दै आएका थिए ।

सिमरा विमानस्थलबाट हाल बुद्ध एयरले साना र ठूला गरी १० र नेपाल एयरलाइन्सले दैनिक १ उडान भरिरहेको छ । बारा, पर्सा, रौतहट र र्सलाही जिल्लाका उद्योगी, व्यवसायी र भारतीय यात्रुहरूले अत्याधिक रुपमा प्रयोग गर्दै आएको उक्त विमानस्थलमा रात्रि उडान संचालन गर्न यस क्षेत्रका व्यवसायी, उद्योगी, सर्वसाधारणले पटक–पटक माग गर्दैै आएको भएपनि निजी विमान कम्पनी र प्राधिकरणबीच समझदारी हुन नसक्दा उडान शुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्