भारतबाट नेपाल भित्र्याउँदै गरेका ब्रोइलर कुखुरा बरामद



बाँके ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले आज बिहान नेपालगञ्जबाट बरामद गरेको छ ।

 

प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको हो । बरामद गरिएको चल्ला प्रहरीले पशु क्वारेण्टाइन चेकपोष्ट नेपालगञ्जलाई बुझाएको छ । ती चल्ला आजै नष्ट गरिएको पशु क्वारेण्टाइन कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख रामसेवक त्रिपाठीले बताउनुभयो ।

 

अभियुक्त सिद्दिकीलाई रु २० हजार जरिवाना लगाइएको छ । भारतीय पक्षीजन्य वस्तु आयातमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा सस्तो दरमा उपलब्ध हुने भएकाले ब्रोइलर चल्ला र कुखुरा अवैध रुपमा नेपाल भित्रिने गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्