रोहित पुन हत्या कसुरदारको नाम सार्वजनिक



महेश न्यौपाने, रोल्पा ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले गत आईतवार वेलुका सुनिल स्मृती गाउँपालिका ४ सुलिचौरमा भएको गोलिकाण्डका ५ कसुरदारको नाम सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको आधिकारीक फेसवुक पेज मार्फत ती कसुरदारको नाम सार्वजनिक गरेको हो ।

फेसवुक पेजमा उल्लेख गरे अनुसार प्रहरीले हत्या अभियोगमा हालसम्म ५ जनालाई पक्राउ गरेको । त्यसरी पक्राउ पर्ने कसुरदारहरुमा रोल्पा नगरपालिका १० का ३० वर्षिय देबबहादुर घर्ती मगर, २७ वर्षिय दीपक पुन, रोल्पा नगरपालिका २ का ३१ वर्षिय निरज श्रेष्ठ, २५ वर्षिय वादल डाँगी र २८ वर्षिय प्रकाश डाँगी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतवाट १० दिन म्याद थप गरि अनुसन्धान भईरहेको वताइएको छ । प्रहरीले घटना स्थलवाट अटो पेस्तोल यूएसए थान १, सो मा लाग्ने म्याग्जिन थान ३, सो मा लाग्ने गोली २ राउण्ड र फायर भएको गोलीको खोका थान २ समेत बरामद गरेको वताइएको छ ।

५,६ महिना अघि रोल्पाको होलेरीमा भएको विद्युत प्राधिकरणको ठेक्का लेनदेन र फेसवुकमा भएको गालीगलौज विषयलाई लिएर बादविवाद हुदा सो घटना भएको प्रारम्भीक अनुसन्धानवाट खुल्न आएको प्रहरीले वताएको छ । सो विषयमा अनुसन्धान जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

नेपाल तरुण दल रोल्पा नगरपालिकाका सभापति समेत रहेका रोहित पुनलाई हत्या भएको तीन दिन पछि परिवारले शव वुझेका थिए । शव वुझे संगै नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिई दाहसंस्कार गरिएको थियो ।

पुनलाई शहिद घोषणा गर्नु पर्ने, हत्या अभियोगमा फरार रहेकाहरुलाई अविलम्व पक्राउ गरि हदै सम्मको कारवाही हुनु पर्ने लगायतका माग राखी नेपाल तरुण दल देशव्यापी आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्