वेदनाका कुरा छाड्दै अधिकारका आवाज



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

‘‘कञ्चनपुरकी निर्दोष केटी निर्मला पन्तको’’
‘‘यस्तै घटना नघटोस् है भन्छौं अन्तको ’’

बलेफी गाउँपालिकाले साताअघि खाडीचौरमा आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रममा कञ्चनपुरको घटनालाई यसरी गीत मार्फत सुनाए स्थानीय महिलाहरुले । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई गीतमार्फत महिलाहरुले सम्झीईरहँदा कार्यक्रममा सहभागी अधिकांशका आँखा रसाए ।

गीतमार्फत महिलाहरुले अन्याय विरुद्धको आवाज मात्र ओकलेनन्, अन्य सामाजिक बिकृति विसंगती र कुरीती विरुद्ध वकालत पनि गरे । गीतमार्फत कम उमेरमा विवाह हुँदा छिट्टै सन्तान जन्मिएर जिन्दगीमा रमाउन नसकेको भाव मात्र ब्यक्त गरेनन् उनीहरुले आफ्नै भोगाईलाई सुनाएझैं लाग्थ्यो । तीज गीत मार्फत अन्याय विरुद्धको आवाज र विसंगती विरुद्धको बोली मात्र ओकलेनन् सरकारलाई समृद्धिका बाटोमा अघि बढ्न सुझाव पनि दिए । महिला राष्ट्रपति भएको देशमा आम महिलाहरु दिनानुदिन असुरक्षित बनिरहेकोदेखि संघसंस्थाहरुले अभियान चलाएपनि महिला हिंशाका घटना नघटेको कुरा उनीहरुले गीतमा समेटेका थिए ।

केहि दिन अघि जुगल गाउँपलिकाले पनि महिला भेला गरेर तीज विशेष साँस्कृतिक कार्यक्रम मनायो । कार्यक्रममा पूर्व राज्यमन्त्री देवी खड्कासहित जिल्लाका महिला नेतृहरु सहभागि भएका थिए । जिल्ला १२ स्थानी तहमध्ये चेतनाका हिशावले पछि परेको जुगल भुगोलका महिलाहरुले पनि कार्यक्रममा दुख, पीडाका विरह गाएनन्, उनीहरुले पनि मानबेचविखन, घरेलु हिंशा र अन्याय विरुद्धको आवाज घन्काए गीत मार्फत । ‘महिला भेला, रमाइलो मेला कार्यक्रम ग¥यौं’, जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले भनिन्,–‘महिलाहरुले हिंशा विरुद्धका गीत गाउनुभयो, अधिकारका आवाज सुनाउनुभयो ।’

‘‘महिला भनि हेपिँदा त लाग्छ साह्रै ननिको’’
‘‘धर्ती–आकाश आधा हिस्सा हाम्रो पनि हो’’
दुख, पीडा र वेदनाका आवाजमै सिमित हुँदै आएको हरितालिका तीजलाई महिलाहरुले पृथक रुपमा मनाउन थालेका छन् । वेदनाका गीत गाएरै तीज मनाउने महिलाहरु पछिल्ला केहि वर्ष यता समय र परिवर्तनका स्वर घन्काउन थालेका छन् । परम्परागत मान्यता र संस्कारलाई तोड्दै महिलाहरुले तीजलाई अधिकार प्राप्तीको अभियानकै रुपमा मनाउन थालेका हुन् ।

पछिल्ला दुई साताकाबीच जिल्लाका विभिन्न गाउँ नगरमा आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रममा पुग्दा महिलाहरु मुक्ति, स्वतन्त्रता र अधिकारका पक्षमा खरो रुपमा उत्रिएका भेटिए ।

चेलीले माईत जान नपाएका कथा, माइतिले हेला गरेको वेदना । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजमा केहि वर्षअघि सम्म यी यस्तै भाव बोकेका गीत सुनिन्थे । तर पछिल्ला केहि वर्षयता समानता र अधिकारका आवाज गुञ्जन थालेका छन् । एक दिनको तीजलाई महिनादिन सम्म मनाउन थालिएको छ ।

एक महिना अघि देखि नै महिलाहरुले तीजका गीत मार्फत घरेलु हिंशा विरुद्धको आवाज उठाइरहेका छन्, बालविवाह, बहुविवाह विरुद्धमा वकालत गर्न थालेका छन् । महिनादिन अघिदेखि नै साँस्कृतिक कार्यक्रम आयोजना गरि महिलाहरुले तीज मनाउँदै चेतनाको बीज छरिरहेका हुन् । कतै संघसंस्थाले तीज विशेष कार्यक्रम गरेका छन्, कतिपय गाउँनगरमा महिला भेला गरेर स्थानीय सरकारले नै तीज विशेष साँसकृतिक कार्यक्रम गरे ।

‘तीजमा गीतका माध्यमबाट महिलाहरुले आफ्ना पीडा र व्यथा ब्यक्त गर्दथे, आज मुक्ति र स्वतन्त्रताका स्वर गुञ्जिन थालेका छन्’, महिला अधिकारकर्मी नानीमायाँ थापा भन्छिन्,–‘तीज पर्व मात्रै नभई महिला मुक्तिको अभियानका रुपमा विकास भइरहेको छ ।’ तीजका अवसरका आयोजित विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा महिलाहरुले गीत मार्फत समानता र अधिकारका आवाज घन्काइरहेको उनी बताउँछिन् । पछिल्ला दुई साताबीच जिल्लामा आयोजित विभिन्न तीज विशेष साँस्कृतिक कार्यक्रममा सहभागी भएकी नेपाल कम्युनिष्ट पार्टीकी महिला नेतृ अमृता नेपाल पछिल्लो समयमा तीज परिस्कृत बन्दै गएको बताउँछिन् ।

‘तीज पर्व मात्रै थियो, अब अधिकारको आवाज उठाउने अवसरका रुपमा विकास भइरहेको छ’, उनी भन्छिन्,–‘साँस्कृतिक कार्यक्रमहरुमा महिलाहरुले गीत मार्फत समाज बोलिरहेका छन् ।’ महिलाहरु गलत परम्परालाई तोड्दै आफ्नो अधिकारका बारेमा बहस गर्ने र हिंशा विरुद्धको चेतना जगाउने हिसावले हरितालिका तीज मनाउन थालेको उनको बुझाई छ । ‘‘महिलाहरुमा जुनखालको नयाँ जागरण पैदा भएको छ, यसले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नेछ’,–उनी भन्छिन् । तीजका नाममा समजमा बिकृति मौलाउँदै गएको स्विकार गर्दै महिला नेतृ सीता थापा पछिल्लो समय समय र परिवर्तनसँगै यो पर्व परिष्कृत हुँदै आएको बताउँछिन् ।

राजनीतिक, सामाजिक परिवर्तनहरुसँगै अब चाडपर्व मनाउने तरिका पनि परिमार्जित हुँदै गए’, थापा भन्छिन्,–‘तीजका कार्यक्रमहरुमा जहाँ जहाँ पुगें, महिलाहरुले गीत मार्फत अधिकार र स्वतन्त्रताका कुरा बोलीरहेको देखें ।’ दुख, पीडा र वेदना का कहानी छाडेर महिलाहरुले तीजलाई जनचेतनाको माध्यमका रुपमा मनाउन थालेको उनको बुझाई छ । ‘दिनैपिच्छे दर र नाचगानले बिकृति पनि निम्त्याएको हुनसक्छ’, उनी भन्छिन्,–‘तर हरितालिका तीज पछिल्लो समयमा महिला जागरणको पर्व बनिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्