स्थानीय तहको जवाफदेहितामा जोड



नेपाल समाचारपत्र, पर्वत
पर्वतमा आयोजित एक कार्यक्रममा भुकम्पबाट क्षतिग्रस्त संरचनाहरु निर्माणका लागि स्थानीय तहको जवाफदेहितामा जोड दिइएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार जिल्ला आयोजना कार्यान्वयन इकाई र आवास पुनर्लाभ तथा पुनर्निर्माण समन्वय मञ्च नेपालले आयोजना गरेको अभिमुखिकरणमा स्थानीय तहहरु जवाफदेही बन्नुपर्नेमा जोड दिइएको हो ।

कुस्मामा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भुकम्पबाट पिडित बनेका नगरवासीहरुलाई नगरपालिकाले सम्बोधन गर्ने उचित स्थान नहुँदा आफ्नो कार्ययोजना अनुरुप काम गर्न नपाएको बताए ।

‘गाउँ गाउँमा गुनासोहरु भुकम्प सम्बन्धि नै धेरै आउँछन्’ उनले भने ‘पुनर्निर्माण गर्ने अधिकार र बजेट हामीलाई दिनुहोस् हामी तयार छौँ’ शर्मा सँगै मोदी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेल र पैञ्यु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले समेत जनप्रतिनिधिहरुलाई जिल्लामा भुकम्प पिडितहरुका लागि आएका कार्यक्रमहरुको बारेमा उचित ज्ञान नहुँदा ग्रामीणस्तरमा बुझाउन कठिन भइरहेको गुनासो गरे ।

कार्यशालामा कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत सुवास कुमार लामिछाने र महाशिलाका कार्यकारी अधिकृत किसान क्षेत्रीले पुनः र्निर्माण कार्यमा ढिलाई हुँदा स्थानीय तहको प्रगति विवरण नै प्रभावित हुन पुगेको गुनासो व्यक्त गरे ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतका आयोजना प्रमुख जगदिश शर्माले जिल्लामा भइरहेको पुनर्निर्माण कार्यको प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए । उनले पर्वतका स्थानीय तह अनुरुप भएको क्षति विवरण र लाभग्राहीहरुलाई प्रदान गरिएको सेवाका बारेमा बताएका थिए ।

विभिन्न समस्याको पहिचान गर्दै पर्वतका सवै स्थानीयतहबाट २ हजार ८ सय ७४ गुनासोहरु संकलन गरी सम्बन्धित निकायमा पठाइएको भएपनि ती गुनासो उपर सुनुवाई हुन नसक्दा समस्या उत्पन्न भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्