नारायणी नदीबाट हामीलाई बचाऊ



नारायणी नदी हाम्रो काल बन्न थालेको छ । बर्खायामको उत्तराद्र्धमा नारायणी नदीको कटानले जमिन बगाउन थालेपछि भरतपुर महानगरका दुई वडावासी एक साता त्रासैत्रासमा रहनुप¥यो । वडा नं. २७ र २८ को सिमानामा पर्ने न्युरेचोकमा तटबन्ध भत्किएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सूचना जारी ग¥यो ।

न्युरेचोकमा चार कठ्ठा र राप्ती अनि नारायणीको संगमस्थल गोलाघाटको राप्ती नियन्त्रण सामुदायिक वनको ५ कठ्ठा जमिन नारायणी नदीको कटानबाट बग्न पुग्यो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेना, प्रहरी, महानगर प्रहरी, स्थानीयलगायतको संयुक्त प्रयासबाट चार दिनमा कटान नियन्त्रण गरियो । नदी कटानबाट कम्तीमा ४ करोड रूपियाँबराबरको क्षतिको अनुमान गरिएको छ ।

नारायणीमा बाढीको बहाव खासै नबढे पनि नदी कटानले क्षति पु¥यायो । समयमै सबै पक्षको सक्रियताले गर्दा दुई वडाका १२ सय मानिस सुरक्षित भए । नदी कटानको तत्काल समस्या समाधान गर्न बोरा, तारजाली र रुख ढालेर कटान रोक्ने प्रयास भए पनि यो क्षेत्रमा समस्या विद्यमान छ । यसको दीर्घकालीन समाधानमा ध्यान नदिने हो भने कटानले फेरि जोखिम बढाउने निश्चित नै छ ।

हामी भैपरी आउने प्राकृतिक विपत्तिमा जति संयमित हुन्छौँ, सक्रियता देखाउँछौँ र हातेमालो गर्छौं त्यति विपत्बाट पाठ भने सिक्न सकेका छैनौँ । पटक–पटक आइपर्ने विपत्तिबाट सिक्ने सोचसम्म बनाएका हुँदैनौँ । त्यही कारण बाढीपहिरो, डुबान, कटानजस्ता त्रासदी हाम्रो नियति बनिरहेको छ । मनसुनी बर्सादले ल्याउने विपत्तिलाई कसैले रोक्न सक्दैन । पूर्वसतर्कता अपनाएर सुरक्षित हुने मात्र हो । तर, वर्षाका कारण हुने डुबान, कटान, विस्थापनजस्ता संकटलाई न्यूनीकरण भने गर्न नसकिने होइन ।

नेपालमा मौसम पूर्वानुमानबारे वैज्ञानिक प्रबन्ध गतिलो छैन । यो राज्यको प्राथमिकतामा परेको छैन भन्दा पनि फरक पर्दैन । मौसम विभागले बाढी आउन सक्छ भनेको बेला पानी नै नपर्ने र मनसुन ठीक छ भनेको बेला नदीको बहाव बढ्ने अचम्मको सूचना प्रणाली हामीकहाँ विद्यमान छ ।

बाढीपीडितहरुलाई कैयौँ दिनसम्म उद्धार गर्न नसकिएका, बाढीपश्चात् पीडितहरु विभिन्न संक्रामक रोगको सिकार हुनुपरेका, राहत सामग्री, औषधि तथा अस्थायी छाप्रोसमेत नपाएका हामीले बारम्बार अनुभव गरेकै विषय हो ।
भरतपुर २७ र २८ का बासिन्दाले भोग्नुपरेको नियति पनि एउटै हो ।

ठेकेदार पक्षले बलियो तटबन्ध र स्पर निर्माण नगर्नु, समयमै टेन्डर आह्वान नहुनु, चितवन राष्ट्रिय निकुञ्जले समयमै ढुंगा–गिट्टी निकासी गर्न इजाजत नदिनुजस्ता कारण यसमा जिम्मेवार छन् । नेपालमा निर्माणका काम सम्पन्न भएपश्चात् अनुगमन नगर्ने, निर्माण सामग्रीको गुणस्तरबारे ध्यान नदिने, कमी–कमजोरीहरु लुकाउने, ढिलासुस्ती हुने प्रवृत्तिले प्राकृतिक विपत्तिको सामना गर्नुपरिरहेको छ ।

नदीले कटान गरेपछि प्रजिअको अध्यक्षतामा जिल्लामा आकस्मिक बैठक बसेर सम्पूर्ण संयन्त्र परिचालन गरियोे । तर, पूर्वसतर्कताबारे चेतनामूलक अभियान गर्ने, नदी कटान र बाढीको पूर्वानुमान गरी बस्ती स्थानान्तरणको पहल गर्ने काम भने हुन सकेको पाइँदैन । विपत्ति संकेत दिएर आउँदैन, विपत्तिले गर्ने विनाशको कुनै अनुमान गर्न पनि सकिँदैन । आवश्यक तयारी र समन्वयमा जुट्न सक्ने हो भने जोखिम कम गर्न सकिन्छ ।

स्थानीय तहले बर्सेनि आउने समस्यालाई मध्यनजर गर्दै बाढी प्रतिरोधात्मक दिगो शक्ति आर्जनलाई आफ्नो कार्यसूचीमा समावेश गरी समयमै ध्यान केन्द्रित गर्नुपर्छ । नदीको बहाव क्षेत्रवरपरका जोखिमपूर्ण बस्ती स्थानान्तरणमा पनि स्थानीय तहले नै चासो देखाउनु जरुरी देखिन्छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।
– विश्रान्त अधिकारी, चितवन

 

प्रतिक्रिया दिनुहोस्