नेपालको लागि ठूलो अवसर



नेपाल समाचारपत्र, काठमाडौं
साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सन् १९९३ देखि शुरु भएको यस प्रतियोगितामा नेपालले सेमिफाइनलसम्म यात्रा तय गरेको छ । यस संस्करणसमेत गरी नेपाल चार पटक अन्तिम चारमा पुगेको छ । यसअघि १९९९, २०११ र २०१३ मा नेपाली टोलीले सेमिफाइनलसम्म यात्रा तय गर्दा २०१३ को संस्करण नेपालमै भएको थियो । तर सो खेलमा नेपाल बलियो टोली अफगानिस्तानसँग आफ्नै घरेलु मैदान र दर्शकसामु पराजित हुनपुगेको थियो ।

यस पटक भने नेपालको लागि अफगानिस्तान वा भारतसँग प्रतिस्पर्धा गर्नु परेको छैन । अफगानिस्तान साफ नखेल्ने भनेपछि नेपाललाई राहत मिल्यो भने समूह चरणमा पहिलो हुनाले फाइनल नपुगन्जेल भारतसँग सामना गर्ने परेको छैन । यसैले बुधबार माल्दिभ्स्सँग हुने खेल नेपालको लागि साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्ने ठूलो अवसर हो । यो अवसर नेपालले सदुपयोग गर्ने पर्छ ।

यसका लागि नेपाली टोली तयार भएको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । महर्जनले बताए—नेपालको प्रदर्शन राम्रो भएको छ । एक खेल हारे पनि त्यसमा नेपालको खेल कमजोर भन्न सकिँदैन । त्यसैले म भन्छु कि माल्दिभ्सलाई हराउन सक्ने हाम्रा खेलाडीसँग क्षमता छ । अघिल्ला खेलमा झै खेले पनि नेपालले फाइनलको यात्रा गर्न सक्नेछ ।

महर्जनले समूह चरणमा तीनै खेलमा छुट्टाछुट्टै कप्तान निर्धारण गरेका थिए । पाकिस्तानविरुद्ध नियमित कप्तान विराज महर्जन, भुटानविरुद्ध गोलरक्षक किरण चेम्जोङ र बंगलादेसविरुद्ध भरत खवासलाई कप्तानी जिम्मा दिएका थिए । जसमा पाकिस्तानसँग नेपालले २–१ ले हा¥यो भने भुटानलाई ४–० ले हराएर अन्तिम चारको आशा बनायो । बंगलादेसलाई उसको मैदानमा २–० ले हराएपछि नेपाल समूह ए को शीर्ष टोली भएर अन्तिम चारमा पुगेको हो ।
साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन राम्रो छैन ।

अहिलेसम्म ६ खेल खेलियो र ४ मा नेपालको हार भएको छ । दुई खेल बराबरी नतिजा आएको छ । तर यसपटक महर्जन प्रशिक्षक भएकोले नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउने संभावना पनि त्यतिकै छ । तीन वर्ष अघि बंगबन्धु कप जित्दा महर्जन नै नेपाली टोलीका प्रशिक्षक थिए । त्यतिबेला नेपालको यु २३ राष्ट्रिय टोलीले माल्दिभ्सलाई ४–१ ले हराएको थियो । त्यतिबेलाका खेलाडीहरु अहिलेको टोलीमा छन् ।

एक गोल पनि नगरी सेमिफाइनलमा
यस प्रतियोगितामा माल्दिभ्स सेमिफाइनल पुगे पनि विपक्षीलाई एक गोल पनि गरेका छैन । पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्स भारतसँग २–० ले हारेको थियो । श्रीलंका पनि भारतसँग २–० ले नै हारेपछि समूह बी बाट अन्तिम चारमा पुग्ने दोस्रो टोलीको तय गर्न कठिन भयो । गोला पद्धति प्रयोग गर्दा माल्दिभ्सले श्रीलंकालाई जिल्ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्