पाँच लाखको निजी खर्चमा गुम्बामा माने स्थापना



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङ जिल्लाको एक गुम्बामा एक समाजसेवी महिलाले ५ लाख रुपैयाँको निजी लागतमा माने स्थापना गरिदिनु भएको छ । क्ब्होलासोथार गाउँपालिका– १ स्थित गिलुङ गाउँको चण्डीडाँडामा निर्माण गरिएको गुुम्बामा सोही वडामा स्थायी बासस्थान रहेकी सानुमाया गुरुङले सो माने स्थापना गर्नु भएको हो ।

२०५२ सालमा पाँच रोपनी क्षेत्रफलको हातामा निर्माण गरिएको सम्बा छोयलिङ गुम्बामा उक्त माने स्थापना गरिएको दाता सानुमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार काठमाडौँको बौद्धमा सो मानेको निर्माण गरिएको हो । त्यसको निर्माण खर्चदेखि ढुवानी र गुम्बा स्थलमा ल्याएर स्थापना गर्दासम्मको खर्च ५ लाख १८ हजार रुपैयाँ लागेको उहाँले बताउनु भयो ।

मानेको दर्शन र परिक्रमा गर्नाले भक्तजनका लागि ठूलो पुण्यको काम गर्ने, त्यो परिक्रमा गर्दा वा त्यसलाई घुमाउँदा जान अञ्जानमा भएका पापको नास भई पुण्य मिल्ने भएको हुँदा लोक कल्याणका लागि आफूले यो काम गरेको बयोबृद्ध समाजसेवा ८१ वर्षीया सानुमाया गुरुङले बताउनु भयो । उक्त गुम्वा भवन निर्माण तथा व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएकी उहाँले सो गुम्बा निर्माणका लागि ७० खाल खर्च लागेको अनुमान गरिएको छ । खर्चको एकिन हिसाव उदघाटनको समयमा सार्वजनिक गर्छौ उहाँले भन्नुभयो ।

उहाँले आजीवन अविवाहित रहेर समाजसेवाका काम गर्दै आउनु भएको छ । उहाँकै नेतृत्वमा जिल्ला सदरमुकाम बेसीशहरमा आदर्श महिला बाल विकास केन्द्र सञ्चालनमा रहेको छ । त्यसमा ११ जना अनाथ बालबालिकाले भरणपोषणका साथमा स्कूलको शिक्षा आर्जन गरीरहेका छन् ।

सो मानेको निकट भविष्यमा रामघाट पोखराका थोक्देन लामाको हातबाट उदघाटनको तयारी गरिएको सानुमाया गुरुङले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्