तीजको लहर



तीज परम्परा कि विकृति ? के हो छुट्याउन धरहरालाई निकै गाह्रो हुन थाल्या छ । चिरिच्याट्ठ भएर घरबाट फुत्त फुत्त निस्कने महिलावृन्दहरुको ताती दिनै पिच्छे देखिन्छ । ‘टाढै हो’ प्रश्न उच्चारण गर्नै पर्दैन प्रश्नको आसय बुझेर हो कि के हो हतारिदै जवाफ आउँछ–‘आज तीजको जमघट छ ।’

अन्य दिन ठुस्किने, बोल्दा पनि पैसा पर्छ जसो गर्नेहरु मुस्कान सहितको जवाफ फर्काउँछन् भन्या । सहर बजारमा मुस्कान माहोल देखिन थाल्या २÷३ सातै भइसक्यो । यस्तो लहरले सरकारी कार्यालयलाई पनि धपक्कै छोप्या धेरै दिन भयो, केही काम लिएर कार्यालय पुग्यो भने महिलावृन्द देखिनै गाह्रो । गत हप्ता खै कुन विभागको तीज रे, हिजो अस्ती अर्कै विभाग र कहिले चाहिँ कुन महाशाखाको बुझिनसक्नु छ ।

सरकारी कार्यालय मात्रै होइन, २÷४ दिन अघिदेखि मन्त्रालयलाई पनि उस्तै हावापानीले छोप्या छ । नेपाल वायुसेवा निगमको कार्यालयको छतमा केही दिन अघिदेखि नै चर्को ध्वनी सहितको जमघट धरहराले देखेकै हो । निगमले तीजकै मौलिक गीत नभएटेर हो कि चल्तीका विदेशी आइटम गीत खुब घन्कायो । अनि म्याडमहरुले कम्मर मर्काएको हेर्न सरहरु लाइनै लागेको देख्दा धरहरा निकै छक्क प¥या छ ।

प्रतिक्रिया दिनुहोस्