चीन–पाक कोरिडोर पश्चिमतर्फ विस्तार हुने



बेइजिङ (एजेन्सी)
पाकिस्तान अधिनष्ठ काश्मिर भएर गएको चीन पाकिस्तान आर्थिक मार्ग (सीपीईसी)लाई पाकिस्तानको पश्चिमसम्म विस्तार गर्ने चीनले जनाएको छ ।
चीनले यसअघि अफगानिस्तानलाई उसको पश्चिम भागबाट सीपीइसीमा सहभागी हुन आमन्त्रण गरिसकेको छ । यसअघि पश्चिम स्थित इरानले परियोजनामा सहभागी हुने रुची देखाएको थियो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआंगले भने, ‘दुबै पक्षले सीपीइसीलाई अगाडी बढाउनेछ । पाकिस्तानको आर्थिक विकास र पाकिस्तानी जनताको आवश्यकतालाई ध्यानमा राखी हामी सीपीईसीका लागि मार्ग र सहयोगको पहिचान गर्नेछौं ।

हामी औद्योगिक सहयोग र जनताको जीविकासँग जोडिएका परियोजनामा तिब्रता ल्याउनेछौं र सीपीइसीलाई पश्चिमी इलाकासम्म विस्तार गर्नेछौं र धेरै भन्दा धेरै जनतालाई यसबाट फाइदा पुर्याउने छौं – उनले भने ।

सीपीईसीमा चीनको सिनजियांग स्थित कासगर र पाकिस्तानको ग्वादर बन्दरगाहलाई जोड्ने परिकल्पना गरिएको छ । गेगले चीनका विदेशमन्त्री वांग यीले गत हप्ता गरेको ३ दिवसिय पाकिस्तान भ्रमणका विषयमा सोधिएको एक प्रश्नको जवाफमा उक्त कुरा बताएका थिए । पाकिस्तान भ्रमणका क्रममा वांग यीले पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानसँग भेटेका थिए ।
सीपेक प्रति पाकिस्तान आसंकित

चीन–पाक आर्थिक मार्गका विषयमा इमरान खानको नयाँ सरकारले उक्त परियोजना सीपेक सम्झौता अनुचित बताएको छ । बेलायतको एक प्रमुख अखबार फाइनान्सियल टाइम्सले आफनो एक समचारमा यस सम्झौताले चिनियाँ कम्पनीलाई मात्र एकतर्फी फाइदा भइरहेको उल्लेख गदै पाकिस्तानले त्यसलाई ‘अनुचित‘ बताएको उल्लेख गरेको छ ।

पाकिस्तानका अधिकारीहरुलाई उदृत गर्दै इमरान सरकार चीनको बेल्ट एन्ड इनिसिएटिभ (बीआरआई)मा आफनो भुमिकाको समीक्षा गर्ने बताएको युके डेलीले जनाएको छ । पाकिस्तानले एक दशक भन्दा अगाडी भएका ब्यापार सम्झौतालाई पुन समीक्षा गर्ने जनाएको छ ।

सीपेकमा चीनसँग सम्झौता गर्ने बेला पाकिस्तानको अधिल्लो सरकारले धेरै गल्ती गरेका छन् । उनीहरुले गृहकार्य सही तरिकाले गरेनन् र यसबाट धेरै भन्दा धेरै फाइदा हुने गरी उनीहरुले सम्झौता गरेनन् ‘ प्रधानमन्त्री इमरान खानका वाणिज्य, कपडा उद्योग तथा उत्पादन र लगानी मामिलाका सल्लाहकार अब्दुल रज्जाकले बताए ।

यसैबीच इमरान खानले आइतबार चीनसँग सर्वकालिन मित्रता पाकिस्तानको विदेशनितिको आधारशिला बताएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनले ५० अर्ब डलरको सीपेक परियोजना लागु गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए । चिनियाँ विदेशमन्त्री वांग यीले खानसँगको भेटवार्तामा नयाँ सरकारसँग सम्बन्ध बलियो बनाउने इच्छा ब्यक्त गरेका थिए ।

चिनियाँ कम्पनीहरुलाई कर छुट सहित पाकिस्तानमा कयौं फाइदा भइरहेकोले यो अनुचित भएको आफुहरुले देखेको र पाकिस्तानका कम्पनीहरुलाइ घाटा भइरहेको पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार दाउदले बताए ।

प्रधानमन्त्री बन्नु अगाडी खानले सीपेकका बारेमा राम्रो धारणा राखेका थिएनन् । उनले सीपेक परियोजनामा भ्रष्टाचार तथा पारदर्शितालाई लिएर चिन्ता ब्यक्त गरेका थिए । यद्यपी प्रधानमन्त्री बनेपछि भने उनी यस प्रति नरम बन्दै गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्