११४ दिनका लागि सर्वाेच्चले नेतृत्व पायो



-प्रशान्त वली, काठमाडौं ।

पाँच महिनादेखि रिक्त रहेको सर्वाेच्च अदालतले सोमबारदेखि नेतृत्व पाएको छ । संसदीय सुनुवाइ समितीले ओमप्रकाश मिश्रको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेपछि सर्वाेच्चले ११४ दिनका लागि नयाँ नेतृत्व पाएको हो ।

किनकि वि.सं. २०१० पुस १८ गते रुपन्देहीको रायपुरमा जन्मनुभएका मिश्रको कार्याकाल उमेर हदका कारण आगामी पुस १७ गते सकिने छ । त्यसपछि वरिष्ठताको आधारमा न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशको लाइनमा रहनुहुनेछ ।

त्यसपछि राणाको खाता खोलिने

जोशी अदालत फर्कने

मिश्र २८ औं प्रधानन्यायाधीशका रुपमा समितिले सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य शिवकुमार मण्डलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली गत ०७४ चैत्रमा बर्खास्ती भएसंगै उक्त पद रिक्त रहँदै आएको थियो । त्यसपछि कामु प्रधानन्यायाधीश न्यायाधीश दिपकराज जोशीको नाम प्रधानन्यायधीशमा सिफारिस गरिए पनि संसदीय समितीले अस्विकृत गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायधीश मिश्रलाई सोमबार सपथ खुवाउनुभयो । उहाँले अदालतलाई भष्ट्राचार र विचौलियामुक्त बनाउने दावी गर्नुभएको छ ।

२०७५ साउन २० गते कायममुकायम प्रधानन्यायाधीश हुनुभएका मिश्र ०७१ जेठ १३ गते सर्वोच्चमा न्यायाधीश नियुक्ती हुनुभएको हो । प्रधानन्यायाधीशमा जोशीको नाम अस्विकृत भएपछि संवैधानिक परिषद्ले भदौ ७ गते उहाँको नाम सिफारिस गरेको थियो ।

सोमबार नै समिती सदस्यहरुले उहाँसँग न्यायालयसंग जोडिएका प्रश्नहरु सोधेका थिए । समिति सदस्यहरू योगेश भट्टराई, पुष्पा भूषाल, पार्वत गुरुङ, जीतेन्द्रनारायण देव, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ लगायतले उहाँसँग न्यायीक क्षेत्रसँग सम्वन्धित प्रश्न सोध्नुभएको थियो ।

त्यसक्रममा मिश्रले न्यायपालिकाको भावीकार्यदिशाबारे कार्ययोजना पेश गर्दै यो वर्षलाई फैसला कार्यान्वयनवर्षका रुपमा घोषणा गर्नुभएको थियो । करिव एक लाख १२ हजार बर्षको कैद र करिव १० अर्व जरिवाना असुल हुन बाँकी रहेको बताउँदै मिश्रले अदालतवाट दण्ड जरिवाना लागेका एक लाख बढि व्यक्तिलाई पक्राउ गर्नुपर्ने अवस्था रहेको स्वीकार्नुभयो ।

उहाँले भन्नुभयो–सरोकारवाला निकायसंगको समन्वय र सहकार्यमा यो वर्षलाई फैसला कार्यान्वयन वर्षका रुपमा घोषणा गरि दण्ड, जरिवाना, असुलिलाई अभियानका रुपमा कार्यान्वयनमा ल्याउने प्रयास गर्नेछु ।’

यसैविच पूर्व कामु प्रधानन्यायाधीश जोशी आजबाट बरिष्ठतम न्यायाधीशका रूपमा सर्वाेच्च अदालत फर्कनु हुने भएको छ । उहाँले आफु सोमबारसम्म विदामा बसेकाले नियमितकाममा फर्कने लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्