जनताको आँखामा छारो हाल्दै सरकार, मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट



मधुसूदन रायमाझी, काठमाडौं । नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ ।

पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् । प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ ।

त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ ।

कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ । प्रचण्ड भारत भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुग्नु भएको थियो ।

यता प्रचण्डले पनि दुई÷चार जना मन्त्री हट्न सक्ने भन्दै सार्वजनिक रुपमा जनताको पक्षमा काम नगर्ने मन्त्री हटाउने बताउनु भएको थियो ।

उहांले गत मंगलवार आफ्नै निवासमा पार्टी निकटका पत्रकाहरुलाई बोलाएर यस्तो संकेत गर्नुभएको थियो । ओली र प्रचण्डबीच सोमबार सांझ मन्त्री फेरवदल गर्ने विषयमा गम्भीर कुराकानी भएको वालुवाटार स्रोतले दावी गरेको छ ।

६ महिनाको अवधिमा राम्रो काम गर्न नसक्ने र सरकारलाई नै बदनाम गर्ने काम गरेको भन्दै ओली र प्रचण्डको सहमतिमा नै मन्त्री फेर्ने अन्तिम गृहकार्य भएको बताइएको छ ।

त्यसैगरी मन्त्री फर्ने तयारी गरेपछि पूर्व माओवादी केन्द्रका मन्त्रीहरुले प्रचण्ड निवास खुमलटारमा पुगेर आफ्नो मन्त्री पद जान लागेको हो भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले केही कठोर कदम चाल्ने संकेत गरेपछि यादव र वादल तनाबमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्