संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउँन स्थानीय सरकारलाई बलियो बनाउँनु पर्छः मन्त्री थापा



पुष्करराज बुढाथोकी, भक्तपुर ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउँन स्थानीय सरकारलाई बलियो बनाउँनु पर्ने बताउनु भएको छ ।
आज चाँगुनारायण नगरपालिका नगरस्तरीय बाल संरक्षण तथा सम्र्बद्धन समितिले आयोजना गरेको नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा बोल्दै उहाँले स्थानीय सरकारलाई जति बलियो र जनताप्रति जवाफदेहिता बनाउँन सक्छौ, त्यति नै लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुने बताउनुभयो ।

जनताको अत्यन्तै नजिक रहेर काम गर्ने सरकारको रुपमा स्थानीय सरकार रहेको चर्चा गर्दै उहाँले लामो समय जनप्रतिनिधी नभएका कारण मौलाउँदै गएको अराजक, बिकृति, बिसंगति स्थानीय सरकारमा अझै रहेको बताउनुभयो ।
देशमा राजनीतिक परिवर्तनसंगै संविधानले सबैको हक, अधिकार सुनिश्चित गरेपनि अझै पुरातन सोच, अराजक प्रबृत्ति, अन्धविश्वास, कुरितीका अवशेषहरु बाँकी रहेको उहाँको भनाई थियो । देशमा बढ्दो महिला, बालबालिका तथा जेष्ठ नागरिकमा बढ्दो हिंसा एवं बलात्कार रोक्न स्थानीय सरकारले संयन्त्र बनाएर सक्रिय हुनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो ।

जिल्लाका महिला विकास कार्यालयले विगतमा गर्दै आएको काम स्थानीय सरकारलाई हस्तान्तरण गरेपनि ती कामहरुको व्यबस्थापन हुन नसक्दा समस्या आएको उहाँले बताउनुभयो ।
बालबालिका, महिला र जेष्ठ नागरिकको हकहितका लागि अब स्थानीय निकायले सक्रिय रुपमा लाग्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट लगायतले बालबालिकाको संरक्षण, उनीहरुको हक र अधिकारका लागि नगरपालिकाले कार्यक्रमहरु संचालन गर्नु सकारात्मक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा बालबालिकाहरुले कविता, गीत, नृत्य लगायतका बिभिन्न प्रतिभाहरु प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्