नेपालको शिक्षा दिनप्रतिदिन असमानतातिर धकेलिँदै जानु चिन्ताको विषयः उपराष्ट्रपति पुन



पुष्कर बुढाथोकी, भक्तपुर ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा सामुदायिक र नीजि शिक्षा बीचको खाडल दिनप्रतिदिन बढ्दै गएको बताउनु भएको छ ।

सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै उहाँले नेपालको शिक्षा दिनप्रतिदिन असमानतातिर धकेलिदै जानु चिन्ताको विषय भएको बताउनु भयो ।

सरकारी विद्यालय र क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून हुँदै जानु र अत्यन्तै महँगा भए पनि निजीमा विद्यार्थीको चाप बढ्दै जानु दुखद विषय भएको बताउनुभयो ।

निम्न स्तरका र ग्रामीण क्षेत्रका विपन्न नागरिकका सन्तान शिक्षाबाट वञ्चित हुने अवस्थाले सामाजिक रुपमा असमानता बढ्दै गएको संकेत गरेको बताउनुभयो ।

नेपालको शिक्षा कता जादैछ, शिक्षाको गुणस्तर किन खस्किदै छ भन्नेमा जिम्मेवार व्यक्तिहरु गम्भिर बन्नु र जवाफदेहिता लिदै शिक्षाको गुणस्तर सुधारका लागि अग्रसर हुनैपर्ने उहाँको भनाई थियो ।

समान शिक्षाले मात्रै समान समाज र सरकारले परिकल्पना गरेजस्तै सम्बृद्ध नेपाल, सुखी नेपाली बनाउँन सकिने भन्दै उहाँले असल शिक्षक विना असल विद्यार्थी जन्मन नसक्ने चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ, त्रिविवि शिक्षा शास्त्र सङ्कायका डीन कृष्णप्रसाद गौतमलगायतले शिक्षामा सुधार गर्दै जानुपर्ने औंँल्याउनुभयो । त्यस अवसरमा क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेले क्याम्पस हाताभित्र कूल रु चार करोड ९७ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्