बेनीमा अन्तर मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु



प्रताप बानियाँ, म्याग्दी ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’÷‘हामी सक्छौं’ भन्ने मूल नारासहित म्याग्दीमा सोमबारदेखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । हिन्दु नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर जिल्ला खेलकुद विकास समिति म्याग्दीद्वारा दोस्रो संस्करण अन्तर्गत अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

म्याग्दी जिल्ला खेलकुद रनिङ शिल्ड–२०७५ मा कुल १२ ओटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खेल खेलेर खान पुग्ने दिन आएको बताएका छन् । उनले खेलकुदले एकापसमा मित्रता कायम गर्न सहयोग पु¥याउने बताउँदै खेल क्षेत्रलाई व्यावसायिक ढङ्गले अगाडि बढाउनुपर्ने बताए ।
पूर्वसभासद एवं नेपाल कम्युनिष्ट पार्टीका नेता गोविन्दप्रसाद पौडेलले खेलकुदको क्षेत्रमा जस्तो नेपाली राजनीतिमा विकास हुन नसकेको भन्दै प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मर्यादित र अनुशासित भएर खेल खेल्न आग्रह गरेका थिए । कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि वडा र नगरपालिकामार्फत आवश्यक पहल गर्ने बताए ।


उद्घाटनसत्रको समापन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलकुदले व्यक्तित्व र नेतृत्वको विकास गरेको बताएका छन् । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता, कोषाध्यक्ष दिनेश केसीको सञ्चालन र सदस्य एवं प्रतियोगिता संयोजक मनकुमारी विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच सोमबार सम्पन्न उद्घाटन खेलमा न्यु वेष्ट प्वाइन्ट आवासीय माविले बालमन्दिर आधारभूत विद्यालयलाई शुन्यका विरुद्ध ७ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसपछि भएको दोस्रो खेलमा बेनी सामुदायिक माविले प्रकाश माविलाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको छ भने तेस्रो खेलमा म्याग्दी बहुमुखी क्याम्पसले न्यु होराईजन आवासीय माविलाई शुन्यका विरुद्ध १ गोलले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिता बुधबार सम्पन्न हुने आयोजकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्