विपद व्यवस्थापन कार्ययोजना बिनाका स्थानीय तह, बिस करोड भन्दा बढी क्षति



धनवीर दाहाल, रुकुम ।
बिशेष गरी स्थानीय तहले विपद व्यवस्थापनको योजना तर्जुमा गरी कार्यान्वन तर्फ लानु पर्दछ । विपद कुनै पनि समयमा आउँदै छु भनेर आउने होइन । जुनसुकै बेला पनि बिपद पर्न सक्छ । रुकुम पश्चिममा यो बर्षातको समयमा अधिकांश ठाँउमा बाढी र पहिरोले धनजनको क्षति भएको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्य सबै भन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति भयो । नगरपालिकाको कार्यालयमा समेत बाढी पस्यो । स्थानीय तहको निबार्चन भएको डेढ बर्षको अवधिमा बिभिन्न समयमा बिभिन्न निति तथा कार्यक्रम र स्थानीय कानुन हरु निर्माण गरियो तर विपद व्यवस्थापन सम्बन्धी स्पष्ट योजना नहुँदा विपदमा परेकालाई थोरै राहत दिनु बाहेक अरु कुनै काम हुन सकेन । विकासको नाममा हिउँदको समयमा जथाभावी डोजर र स्काभेटर प्रयोग गर्दा बर्षातको समयमा त्यही जमिन पहिरोमा परिणत भएको छ ।


कहाँ कति क्षति भयो ?

आठविसकोट नगरपालिका
आठविसकोट नगरपालिकाका विभिन्न स्थानमा बाढीपहिरोले अत्यधिक क्षति पुगेको छ । आठविसकोट नगरपालिका ९, १०, ११ र १२ स्थित गिजागारखोलामा आएको बाढीले खोला किनारका तीनवटा घरहरु सहित पाँचवटा घट्टहरु समेत बगाएको छ । उक्त खोलाको बहाव बढेपछि आठविसकोट नगरपालिका कार्यालय अगाडिको वालहरु खोलाले बगाउँदा कार्यालय समेत जोखिममा परेको छ । कार्यालय जोखिममा परेपछि छेउतिरको हलमा रहेका महत्वपूर्ण कागजातहरु, कम्प्युटर, प्रिन्टर लगायतका उपकरणहरु र फर्निचर सामाग्री अर्को भवनमा सारिएको छ । कार्यालयसँगै रहेका ३ वटा घरहरु उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ । कार्यालयदेखि तलपट्टीको तारजाली समेत बगाईदिएपछि सामान सुरक्षित गर्न अन्यत्र सारिएको नगरपालिकाले जनाएको छ । खोलाको बहाव कार्यालयतिर आउन नदिन स्काभेटरले छेक्ने कार्यलाई निरन्तरता दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । यही खोलाकै छेउमा विद्युत नगर भत्किएपछि सो क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ । ठूलो पानी पर्दा खहरे खोला एक्कासी बढ्ने भएकोले नसोचेको क्षति भोग्नुपर्ने बाध्यता भएको स्थानीय लक्ष्मण शाहले बताउनुभयो । सडक निर्माण गर्दा वातावरणलाई ध्यान नदिएर जथाभावी डोजर लगाएपछि गाउँगाउँमा पहिरोको मात्रा बढेको उहाँको भनाई छ । यस्तै आठविसकोट नगरपालिका –११ धुर्सेनीमा गएको पहिरोले दुई घर बगाएको छ । दुईवटा घर भत्किएपनि पुरै गाउँ जोखिममा रहेको छ । पहिरोका साथै पानीको मुहान फुटेपछि धुर्सेनी गाउँ थप जोखिममा परेको छ । पहिरोले आठविसकोटका मुख्य सडकहरु नदुवा–राडी र रिम्ना–राडी सडक समेत अवरुद्ध भएको छ ।

 

आठविसकोट नगरपालिका –११ का १६ घर परिवार घरबारविहिन भएका छन् । धुर्सेनी सहित गोइरी र मंगराका घरबारविहीन ती १६ घरपरिवारलाई नगरपालिकाले ५ हजारका दरले राहतसमेत वितरण गरेको छ । यसका साथै वडा नम्वर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्तीहरु उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । गिँजागाड खोला, वडा नं. ७ र ८को बीचमा पर्ने खारखारा खोला र ठूलीभेरी नदी छेउछाउमा उच्च जोखिम रहेको नगरपालिकाले जनाएको छ । अन्य स्थानिय तह भन्दा आठबिसकोटले बिपद व्यवस्थापन योजना बनाएको भएपनि बर्षात सुरु भइ प्रकोप भइसकेपछि बाहिर आएको हो । तर व्यवस्थित योजना अझै भइसकेको छैन । अहिलेसम्म बाढी र पहिरोका कारण चार करोडको क्षति गरेको छ । गत असार देखी भदौ ९ गतेसम्म नगरपालिकाका विभिन्न ठाउँमा गएको बाढी र पहिरोका कारण चार करोडको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरेर नगरपालिका वडा नं. ११ को मंग्राह गाउँ पूर्ण रुपमा विस्तापित भएको छ । यस्तै वडा नं. ९ को गिजागाड खोला, वडा नं. ६ को ठुलीभेरी नदीका कारण तल्लुबगर, वडा नं. १२ को तातोपानी खोलाका कारण स्थानीयको घरबास नै पूर्णरुपमा क्षति गरेको केसीले जानकारी दिनुभयो । बाढी र पहिरोका कारण अहिलेसम्म ३२ घर पूर्णरुपमा क्षति भएको र एक सय ३८ विस्थापित भएको नगरपालिकाको तथ्याङ्क रहेको छ । पूर्ण रुपमा घर क्षति भएका र विस्तापित भएकाहरुलाई अहिले आफन्तको र सार्वजनिक खाली ठाउँमा राखिएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाई छ । बाढी पहिरो पिडितलाई नगरपालिकाले प्रति परिवार पाँच हजारका दरले नगद राहात सहयोग गरेको उहाँले बताउनुभयो । यसका साथै १० हजार बराबरको जस्ता पाता र पाँच हजार बराबरको खाद्यन्न सामाग्रीको समेत सहयोग गरिएको केसीले बताउनुभयो । आर्थिक अवस्था कम्जोर भएका स्थानीयको घरबास नै पहिरोले बगाएका कारण उनिहरुलाई सानो सहयोगले नपुग्ने भएकाले आवश्यक राहात सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत केन्द्रमा माग गरिएको छ ।

 

घरबासका साथै उनिहरुको अन्नबाली उत्पादन गर्ने जग्गा समेत पहिरोले बगाएका कारण थप समस्या भएको छ । बस्ने घरबास नै पहिरोले बगाएपछि स्थानीयहरुलाई दैनिक सञ्चालन गर्न समस्या भएको छ । आफुहरुलाई साँझ विहानको छाक टार्न समस्या उत्पन्न भएको नगरपालिका–११ का पहिरो पिडित दत्तबहादुर नेपालीले बताउनुभयो । ‘घर पहरोले बगाएपछि अहिले त्रिपालमुनीको बास भएको छ,’ उहाँले भन्नुभयो, ‘खानेकुरा समेत घरसंगै पहिरोले बगाएपछि साँझ बिहानको छाक टार्न पनि समस्या भइरहेको छ ।’

पहिरोग्रस्त क्षेत्रमा सांसदको अनुगमन

रुकुम (पश्चिम) क्षेत्र नम्बर १ बाट निर्वाचित कर्णाली प्रदेशका सांसद रातो कामीले जिल्लाको आठबिसकोट नगरपालिकाको पहिरोग्रस्त क्षेत्रको अनुगमनका साथै पहिरो पीडितहरुसंग भेटघाट गर्नुभएको छ । अनुगमनको क्रममा १५ घर पहिरो तथा बाढिले पूर्ण रुपमा क्षति गरेको र ४५ घर अझै जोखिममा रहेको पाईएको उहाँले बताउनुभयो । सांसद कामीले दुई दिन लगाएर नगरपालिकाको धुल्सेनी, धैरेना, रेला बगर, च्युरा, बासकोट, कमेरीखोली, मंग्रा, सल्लेरी, गोथथात, लबाङ, लगायतका ठाउँको अनुगमन गर्नुभएको हो । पहिरो तथा बाढिको कारण पीडितलाई केन्द्र सरकार र प्रदेश सरकारबाट राहतको पहल गरिने उहाँले आश्वासन दिनुभयो । साथै पहिरोको कारण घरबाट विस्थापित भएकाहरुको लागि आवासको व्यवस्थाको लागि पनि पहल गर्ने पनि उहाँको भनाई छ ।


त्यस्तै पहिरोका कारण विभिन्न ठाउँमा धान र मकैबालीमा क्षति पुगेको देखिएकोले तत्कालै स्थानीय तहको कृषि टोली खटाई क्षतिको सत्य तथ्य छानबिन गरी नगरपालिकाबाट आधारभूत रुपमा राहत दिन लगाउने उहाँले बताउनुभयो । स्थानीय तहहरुमा भएको क्षतिको तथ्याङ्क सत्य तथ्य छानविन गरी प्रदेश र केन्द्र सरकारमा समेत पठाउन उहाँले स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।

मुसिकोट नगरपालिका
मुसिकोट नगरपालिकाका बिभिन्न ठाँउमा बाढी तथा पहिरोले धनमालको क्षति भएको छ । क्षतिको बिवरण एकिन गर्न मुसिकोट नगरपालिकाले सकेको छैन । मुसिकोट नगरपालिका वडा नं ११ र १२ को बिचमा पर्ने पितिबांङ खोलामा मोटरेवल पुल नहुँदा जोखिम मोलेर यातायात संचालन भइरहेका छन् । हरेक बर्ष बर्षा सुरु भएसँगै जोखिम मोलेर रुकुमबाट बाहिरिने तथा रुकुममा भित्रने यात्रु तथा मालबाहक गाडी आवतजावत गर्न बाध्य छन् । अत्यधिक पानी परेको बेला खोलामा बाढी आउने र माथीबाट पहिरो खसिरहेको अवस्थामा पनि गाडी संचालन गर्न निकै जोखिम मोल्नु पर्दछ ।

यो खोलामा बाढी आएको बेला गाडी वारपार गर्न नसकेर घण्टौं जाम हुने गर्दछन् । सडकको बैकल्पीक उपाय नहुँदा यस्तो समस्या भोग्नु परेको छ । पुल बन्ने चर्चा बर्षाैं अगाडी देखी भएपनि कुनै पहल नहुँदा स्थानीयले हरेक बर्ष बर्षा याममा यही खोलामा सास्ती व्यहोर्नु परेको छ । मुसिकोट नगरपालिका वडा नं १२ का अध्यक्ष प्रेमबहादुर ओलीले आफुहरुको पहल जारी रहेको बताउनुभएको छ । वडाले नगरपालिकालाई दवाव दिइरहेको र नगरपालिकाले पनि सडक बिभागलाई पटक पटक दवाब दिएको उहाँले बताउनुभयो । सडक बिभागलाई तत्काल काम गर्नका लागी अनुरोध गर्दा सडक बिभागले सर्भे गरिएको जानकारी दिएको बताइएको छ । तर काम हुन नसकेको उहाँले बताउनुभयो । सडक डिभिजन चौरजहारीका प्रमुख आसिस थापाले गत जेठ महिनाको अन्तिममा डिजाइन स्विकृत भइसकेको बताउनुभयो । असार महिनामा आर्थिक बर्ष सकिने भएकोले टेन्डर निकाल्न नसिकएको उहाँले जानकारी दिनुभयो । अव यो आर्थिक बर्षमा टेन्डर निकालेर निर्माणमा जाने डिई थापाको भनाई छ । यो आर्थिक बर्षमा सबै काम सम्पन्न नभएपनि कामलाई तिब्रता दिइने ताउनुभयो ।


चौरजहारी नगरपालिका
चौरजहारी नगरपालिकाले पनि बिपद व्यवस्पापन योजना बनाउन सकेको छैन । मानविय क्षति नभएपनि मध्यपहाडी लोकमार्ग अन्र्तगत चौरजहारी नगरपालिकाको वडा नम्बर ८ को ढुङ्गेखानी र गोइरीज्यूला तथा सानोभेरी गाउँपालिकाको अधिकांश सडकखण्डको भूभागमा पहिरो झर्दा यातायात सेवा प्रभाबित छ । मुसिकोटदेखी चौरजहारी सम्मको ४६ किलोमिटर दूरी रहेको यो सडकखण्डको धेरैजसो भूभागमा पहिरो झर्दा तीब्र गतिमा निर्माण भईरहेको मध्यपहाडि लोकमार्ग सडकखण्डको काम समेत प्रभावित बनेको छ । चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले यो बर्ष ढिला भएकोले कार्यायोजना बनाउन नसकेको बताउनुभयो । अव बिपद व्यवस्थापन कार्ययोजना बनाउन थालिएको उहाँले बताउनुभयो । यस बर्ष प्रकोपबाट क्षतिको बिवरण संकलन भइरहेको उहाँको भनाई छ ।

त्रिबेणी गाँउपालिका
त्रिबेणी गाँउपालिकाको बिभिन्न ठाँउमा सडक भाषिएको छ । झुल्नेटा बजारमा सडक भाषिएर यातायात आवतजावतमा कठिनाई हुने गरेको छ । त्रिबेणी गाँउपालिकामा पनि बिपद व्यवस्थापन कार्ययोजना नभएको प्रमुख प्रशासकिय अधिकृत तेजकुमार ओलीले बताउनुभयो । यस बर्षको प्रकोपको क्षतिको बिवरण संकलन भइरहेको र क्षतिको मुल्यांकलन अनुसार राहत बितरण हुने उहाँको भनाई छ । बिपद व्यवस्थापन योजना बनाएर अवका दिनमा अगाडी बढ्ने उहाँले बताउनुभयो ।

सानीभेरी गाँउपालिका
सानीभेरी गाँउपालिकाले माइन्युटमा कार्ययोजना बनाएपनि त्यसलाई कार्यान्वन गर्नका लागी संयन्त्र परिचालन गरेको छैन । गाँउपालिकाले व्यवस्थित कार्ययोजना निर्माण गरेको छैन । लिपिबद्ध गरी कुनै पुस्तक प्रकाशन गर्न सकेको छैन । बिपदबाट ठुलो मात्रामा क्षति भएको छ । मध्य पहाडी लोकमार्ग भित्र पर्ने बिभिन्न सडक खण्डमा पहिरो गई यातायात अवरुद्ध पनि भएको छ । यस्तै ग्रामिण सडकमा निर्माण गर्दा प्रयोग गरिएका डोजरले गर्दा जमिनहरु भाषिएको छ । बाढी पहिरोबाट सानीभेरी गाँउपालिकामा ३ घर परिवारको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार ति घर परिवारलाई सामान्य राहत प्रदान गरिएको छ ।

वडा नं १ का वडा अध्यक्ष टेक बहादुर पुनको घर खेत बाढीले बगाएपछी घरबार विहिन भएका छन् । सानीभेरी गाउँपालिका वडा नं १ पक्रैयाँ मा रहेको घर र घरवरीपरीको ६ रोपनी जग्गा बाढीले पूर्ण रुपमा क्षति गरेको छ । गत वर्ष किनेको घर र खेत खहरे खोलाले बगाए पछी वडा अध्यक्ष घरबार विहिन भएका हुन । अविरल वर्षाको कारण घरभन्दा माथिको खहरे खोलाको बाढीले घरखेत पुरेको छ । बाढिले मानविय क्षति नगरेपनि घर र खेतमा बाढि पस्दा खेतको बालि र आँप लिचीको बगैचा पूर्ण रुपमा पुरेको छ । अध्यक्ष पुनले यस भन्दा १ महिना पहिले पनि बाढि घरमा पस्दा केहि क्षेति भए पनि अहिले परै क्षति बेहोर्नु परेको बताउनुभयो । आफ्नो घरमा यस्तो विपत्ती आइलाग्दा पनि अध्यक्ष पुन गाउँका अन्य जोखिममा रहेका घर तथा बस्तीहरुमा नियमित रुपमा जाने गरेको बताउनुभयो । निर्माणाधिन मध्यपहाडी लोकमार्गको मुनिपट्टि रहेको घर र बारीमा मध्य पहाडी लोकमार्गमा खनेको नयाँ माटो र १ नं वडा ले खनेको कृषिसडकको माटो मुसल्धारे वर्षाको कारण बाढीको रुप लिइ घर बारीमा पस्दा यस्तो विपत्ती भएको हो । साविकको पूर्तिमकाँडा गाविसमा पर्ने पक्रैया बस्ती र आसपासको क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ ।

बाँफिकोट गाँउपालिका
जिल्ला प्रशासन कार्यालय रुकुमको तथ्यांक अनुसार बााफिकोट गाँउपालिकामा २१ घरपरिवार बाढी पहिरो बाट पिडित भएका छन् भने २ घरपरिवार आगलागी पिठित छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ४ हजारको दरले राहत बितरण गरेको छ । बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बिपद व्यवस्थापन योजना बनाउन केही ढिला भएको बताउनुहुँदै आगामी बर्ष यस्तो नहुने बताउनुभयो । अव कार्यपालिका बैठकमा बिपद व्यवस्थापन सम्बन्धी योजना पास गर्ने र नितिगत रुपमै कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।


जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले यस बर्ष २०,६५२,५०० (बिस करोड, पैंसट्ठी लाख दुई हजार पाँच सय) को क्षति भएको बताएको छ । जस अनुसार ४० लाख ४ हजार राहत बितरण भइसकेको छ । यस्तै आठबिसकोट नगरपालिकाको मात्र ३१ घर परिवारलाई प्रति घर परिवार ५० हजारको दरले राहत बितरण भएको गर्ने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले राहतको लागी केन्द्रमा अनुरोध गरेको जनाएको छ । आठबिसकोट नगरपालिकामा सबै भन्दा बढी क्षति भएको र थप राहतका लागी केन्द्रमा माग गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यस्तै रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमले केही खाद्यान्न र लत्ता कपडा पिडितलाई प्रदान गरेको छ । पिडित परिवार रहेको ठाँउमै पुगेर बितरण गरिएको रेडक्रस रुकुम शाखा सभापति शिवराम खत्रीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्