३६ वटा जलविद्युत् आयोजनाको प्रगति खोजी



नेपाल समाचारपत्र, काठमाडौं
लाइसेन्स लिएर लामो समयसम्म काम सम्पन्न गर्ने विभिन्न ३६ वटा जलविद्युत् आयोजनालाई विद्युत् विकास विभागले पत्र काटेको छ । विभागले २०७३ साउन ३० गतेअघि उत्पादन अनुमतिपत्र पाएका तर भौतिक प्रगति २० प्रतिशतभन्दा कम भएका उक्त आयोजनाहरूको विवरण पेस गर्न पत्र काटेको हो ।

विद्युत् नियमावली २०५० को नियम २१ अनुसार कुनै पनि जलविद्युत् आयोजनाले अनुमतिपत्र जारी भएको एक वर्षभित्र तोकिए बमोजिमको भौतिक रुपमा निर्माण कार्य शुरु गर्नुपर्छ ।

निर्माण सम्पन्न नभएसम्म प्रत्येक ६ महिनामा कार्य प्रगति विवरण विभागलाई बुझाउनुपर्ने उल्लेख गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा ती आयोजनाको विवरण माग भएको हो ।

लाइसेन्स लिएको लामो समयसम्म काम अगाडि नबढाउने झोलामा खोला राखेर हिड्ने गरेको गुनासो बढेपछि त्यस्ता आयोजनाको खोजी कार्य अगाडि बढाउन यस्तो कदम चालेको हो । अनुमति लिएका दुई आयोजनाले दुई वर्षभित्र वित्तीय व्यवस्था गर्न नसकेमा आयोजनाको अनुमतिपत्र रद्द गर्न सकिने कानुनी व्यवस्था छ ।

विभागले प्रगति विवरण मागेका आयोजनामा ४० मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला र ८ दशमलव ४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना रहेका छन् । उनीहरुले १५ दिनभित्र प्रगति विवरण पेश गर्नुपर्ने विभागले जनाएका छन् ।

विद्युत् चोरी गर्नेबाट करिब ३८ लाख असुल

नेपाल विद्युत् प्राधिकरण विद्युत् चोरी नियन्त्रण अभियानलाई पुनः तीव्रमा दिन थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा समेत विद्युत् चोरी भइरहेको गुनासो आएपछि प्राधिकरणले चोरी नियन्त्रणलाई तिव्रता दिएको हो ।

प्राधिकरणले पछिल्ला दुई सातामा साढे सातसयभन्दा बढी विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको छ । प्राधिकरणले पछिल्ला दिनमा तराई मधेसका जिल्लामा चोरी नियन्त्रण अभियान सञ्चालनमा ल्याएको छ । ती जिल्लामा वर्षाको समयमा बढी गर्मी हुने र विद्युत् पनि बढी चाहिने भएकाले चोरी बढेको हुन सक्ने भन्दै नियन्त्रण अभियान अगाडि बढाएको हो ।

नियमित विद्युत चुहावट नियन्त्रणका क्रममा बिजुली चोरी गर्दै गरेको अवस्थामा कारबाही गरेको हो । मुर्गिया, सालझण्डी, बुटवल, देउदहलगायत स्थानमा हुकिङ तथा मिटर बाइपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कारबाही गरिएको छ ।

गत साउन १ देखि १५ गते अवधिमा चोरीमा संलग्नलाई कारबाही गरेर ३७ लाख ८७ हजार ८९ असुल गरिएको थियो । ५८ हजार ८ सय ५० ग्राहक रहेको वितरण केन्द्रअन्तर्गत ९ दशमलव ९२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको छ ।

यस्तै १२ दशमलव ५२ प्रतिशत रहेको चुहावट गत आवमा घटाएर ९ दशमलव ९२ प्रतिशतमा झारिएको छ ।

यस्तै समयमा महशुल नबुझाउने १२५ घरको लाइन काटेर २३ लाख ९३ हजार २ सय ६७ असुल गरिएको छ ।

यस्तै केही ग्राहकको वर्गीकरण सुधार गरी १७ लाख १८ हजार ९ सय ८७ रकम उठाइएको छ ।

वर्षौदेखि महशुल नतिर्ने ग्राहकलाई कालोसँचीमा राखेर कारबाही गरी उनीहरुबाट ६३ हजार ८ सय ७२ बक्यौता उठाइएको प्राधिकरणले जनाएको छ । तर, ललितपुर र भक्तपुरमा भने पछिल्लो दिनमा पुनः विद्युत् चोरी शुरु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्