भोलिदेखि इन्द्रजात्राको साइत



काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ ।

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ ।
९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइन्छ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ । यसरी असोज १२ गते शुक्रबार तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्