निःशुल्क रुपमा नागरिक सेवा कक्ष सुरु



भक्तपुर, (नेस)। निजामति सेवा दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवाग्राहीका लागि निःशुल्क र सहज रुपमा रुपमा बिभिन्न सेवाहरु दिन नागरिक सेवा कक्ष संचालनमा ल्याएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आइतबार राहदानी बनाउँन आउनु भएकी पहिलो सेवाग्राही सविना केसीलाई खादा ओढाएर स्वागत गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।

कार्यालयले यसका लागि दुईजना कर्मचारी खटाएर सेवा दिन सुरु गरेको बताउँदै सेवा कक्षको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले अपाङ्ग र जेष्ठ नागरिकका थप अतिरिक्त सेवा प्रदान गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“अपाङ्ग र जेष्ठ नागरिकले कक्षमा आएर आफ्ना कुरा राख्ने बित्तिकै आवश्यक सबै काम कर्मचारी आफैले गरिदिनेछन्, उहाँहरुलाई प्रशासनले चिया र पानी समेत खुवाउँने व्यबस्था गरेको छ ।” सेवाग्राहीका लागि प्रशासनले कुर्सी, टेबलको समेत व्यबस्था गरेको छ । यो सेवा जिल्लाका सबै सरकारी कार्यालयमा तत्काल संचालन गर्न निर्देशन दिएको प्रजिअ भट्टले बताउनुभयो ।

कार्यक्रममा जिसस प्रमुख गेलालले अब सेवाग्राही बिचौलियाको भर पर्नु नपर्ने बताउँदै सेवाग्राहीलाई यसले धेरै सहजता ल्याउँने बताउनुभयो ।
प्रशासनका विभिन्न सेवा लिन आउँने सेवाग्राहीहरु बिचौलियाबाट ठगिने र अनावश्यक झन्झट व्यहोर्नु परेको गुनासो आएपछि प्रशासनले दुईजना कर्मचारी सहितको सेवा सहायता डेक्स नै स्थापना गरेर सेवा संचालनमा ल्याएको हो ।

कार्यक्रममा सेवाग्राही केसीले प्रशासनमा हुने काम लिन आउँने सेवाग्राही यता र उता भौतारिनु पर्ने, एउटा निवेदन लेखिदिएको पनि पाँचसयदेखि हजार तिर्नु्पर्ने समस्या अब अन्त्य भएको आफुलाई लागेको बताउँनुभयो । यो सेवा सबै कार्यालयमा संचालन भएर निरन्तरता पाउँनु पर्ने उहाँले बताउनुभयो ।

प्रशासनबाट वितरण हुने नागरिकता, राहदानी, कुनै पनि उजुरी, गुनासो लगायतका सेवाहरु लिन सेवाग्राहीले अब बिचौलियाको भर पर्नु नपर्ने प्रजिअ भट्टले बताउनुभयो । यहाँ खटिएका कर्मचारीले नै फाराम भरिदिने, निवेदन, उजुरी लेखिदिने, परामर्श दिने, र अन्य आवश्यक सहयोग गर्नेछन् ।

उहाँले भन्नुभयो–“नागरिकता, राहदानीको फाराम भर्नदेखि उजुरी दिन र अन्य सेवा लिन बिचौलियाले निवेदन लेखिदिएकै भरमा सेवाग्राहीलाई ठग्ने प्रबृत्ति अब अन्त्य हुन्छ, आजदेखि प्रशासनले निःशुल्क सेवा संचालन गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्