सिमेन्टको गुणस्तरमा अक्षम्य बदमासी



शासकले समयमा नै ध्यान दिन नसक्दा नेपालका उद्योगी व्यवसायीहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तु उत्पादन गर्दा लापरबाही गर्ने गरेका उदाहरण मुलुकमा प्रशस्त पाइन्छ । पछिल्लोपटक सिमेन्ट उत्पादन गर्दै आएको इन्टरनेसनल सिमेन्टले तोकिएको गुणस्तरलाई बेवास्ता गर्दै उत्पादन गरेको सिमेन्टमाथि सरकारले प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

लामो समयदेखि उत्पादन गरिँदै आएको यो सिमेन्ट प्रयोग गरेर बनेका संरचनाको अवस्था कस्तो होला ? यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

इन्टरनेसनल सिमेन्ट उद्योग प्रालिले उत्पादन गरेर बजारमा पुगेका सिमेन्टको बिक्रीमा समेत रोक लगाउन सरकारले पहल गर्नुपर्ने देखिन्छ । उत्पादन बन्द गरेर मात्र सरकारको दायित्व पूरा हुँदैन, उक्त कम्पनीले उत्पादन गरी ग्राहकहरुकोमा पुगिसकेको सिमेन्ट र हाल बजारमा रहेको सिमेन्टसमेत जफत गरेर कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्दछ । यसअघि उपभोक्ताले प्रयोग गरिसकेको सिमेन्टको गुणस्तरसमेत जाँच गरी कमसल सिमेन्ट प्रयोग भएको रहेछ भने प्रयोगकर्तालाई क्षतिपूर्ति दिलाउनेतर्फ पनि राज्यले ध्यान दिनुपर्दछ ।

कम्पनी बन्द गराएर मात्रै समस्याको समाधान हुँदैन, जनता ठग्ने त्यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याएर अबदेखि उसले सञ्चालन गरेका अन्य उद्योगमा समेत छानबिन गरी कारबाही गर्न सरकार हिच्किचाउनुहुँदैन ।

नेपालमा बेला–बेलामा यस्ता समाचार आए पनि दुई नम्बरी गर्ने उद्योगी व्यवसायीले सरकारी कर्मचारीलाई प्रभावमा पारेर पुनः कम्पनी सञ्चालन गरका उदाहरण हाम्रा सामु घामजस्तै छर्लङ्ग छ । त्यसतर्फ राज्य सञ्चालकहरुको ध्यान जान जरुरी भइसकेको छ । जनता मारा उद्योगीको उद्योग बन्द गराउने मात्र होइन, उनीहरुलाई कडा कारबाहीस्वरुप जेल हाल्ने व्यवस्था गर्नु जरुरी भइसकेकोे छ । पीपीसी सिमेन्ट उत्पादन गरेर ओपीसी सिमेन्ट भन्दै बेच्ने इन्टरनेसनल सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न सरकारले खुट्टा कमाउनुहुँदैन ।

ग्रामीण क्षेत्रका जनतालाई लामो समयदेखि झुक्याउँदै आएको इन्टरनेसनल सिमेन्ट प्रालिले उत्पादन गरेको सिमेन्टमा क्लिङ्करको प्रयोग कम गर्ने र सिमेन्ट उत्पादन गर्दा प्रयोग गर्नुपर्ने केमिकलसमेत गुणस्तरहीन प्रयोग गर्नेजस्ता बदमासी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

त्यसैले उक्त उद्योगबाट उत्पादित अन्य वस्तुमा समेत अनुगमन गरी प्रतिबन्ध लगाउन सरकार पछि हट्नुहुँदैन । सो कम्पनीको ब्रान्ड एम्बास्डरको रुपमा काम गर्दै आउनुभएका महानायक राजेश हमाललाई समेत विवादमा ल्याउने प्रयास कम्पनीले गरेको छ ।

त्यसैले अब उक्त कम्पनीको सिमेन्टको विज्ञापनमा खेल्न उहाँले छोड्नुपर्छ । सरकारले अब अन्य सिमेन्ट उद्योगमा पनि निगरानी राख्नै पर्छ । यस्तो कालो काम गर्ने उद्योगी व्यवसायीमाथि सरकारले हदैसम्मको कारबाही गरोस् ।

प्रतिक्रिया दिनुहोस्