इन्टरनेसनल सिमेन्ट बदमासी प्रकरण: मजदुरलाई दोष देखाएर कारबाहीबाट उम्कने प्रयास



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जको जगरनाथपुरमा उद्योग स्थापना गरी सिमेण्ट उत्पादन गर्दै आएको इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्टको नेपाल गुणस्तर चिह्न (एनएस) निलम्बनमा गर्न उद्योग मन्त्री मातृका यादवले निर्देशन दिइसकेका छन् ।

सिमेन्ट उद्योगबाट उत्पादन गरेको सिमेन्टको गुणस्तरमा त्रुटी भेटिएपछि त्यसको गुणस्तर चिह्न निलम्बनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निर्देशन दिएको स्रोतले जनाएको छ ।

इन्टरनेसनल सिमेन्टको नाममा दर्ता रहेको उद्योगले उत्पादन गर्ने ओम ब्रान्डको ओपीसी सिमेन्टमा पीपीसी सिमेन्ट हालेर बिक्रीवितरण गरेको पाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

गुणस्तर चिन्ह खारेज हुने
कार्यकर्ताको प्रयासलाई मन्त्रीले तुहाए

इन्टरनेसनल सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको गुणस्तर प्रयोगशालामा परीक्षण गर्दा ओपीसी सिमेन्टमा पीपीसी हालेर बिक्री गरेको भेटिएको हो । त्रुटि भेटिएपछि मन्त्री यादवले गुणस्तर चिह्न निलम्वन गर्न निर्देशन दिएपछि उद्योगले पार्टीकै नेताहरुमार्फत पनि कारबाही नगर्न लबिङ गरेर रकमको समेत प्रलोभन दिएको स्रोतको भनाइ छ ।

तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले ठाडै अस्वीकार गरेर कारबाहीका लागि निर्देशन दिएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । गुणस्तरमा त्रुटि भेटिएपछि किन कारबाही नगर्ने ? भन्ने आशयसहितको स्पष्टीकरण पठाएकोमा चित्तबुझ्दो जवाफ नदिएपछि ओम सिमेन्टको गुणस्तर चिह्न खारेज हुने भएको हो । उद्योगले ओपीसी सिमेन्टमा पीपीसी मिसाएर बिक्री गरेको भए पनि मजदुरलाई दोष देखाएर कारबाहीबाट उम्किन खोजेको छ ।

उद्योगलाई पठाएको स्पष्टीकरणको जवाफमा उद्योगमा कार्यरत मजदुरका कारण त्रुटि हुन गएको व्यहोराको जवाफ उद्योगले पठाएको थियो । उद्योगले दिएको जवाफमा चित्त नबुझेपछि गुणस्तर चिह्न खारेज गर्ने निर्णयमा मन्त्रालय पुगेको थियो । गुणस्तर चिह्न खारेज भएपछि इन्टरनेसनल सिमेन्टद्वारा उत्पादित ओपीसी सिमेन्ट बजारमा बिक्रीवितरण गर्न नपाउने भए पनि उसले अवैध रुपमा सिमेन्ट बिक्री गर्दै आइरहेको समाचार नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्