अब्खाजियाका प्रधानमन्त्री गेन्नाडीकाे कार दुर्घटनामा मृत्यु



काठमाडौँ । अब्खाजियाका प्रधानमन्त्री गेन्नाडी गागुलिया रुसको सोची विमानस्थलबाट देश फर्किंदै गर्दा कार दुर्घटनामा शनिवार मारिएका छन् । उनी सिरियाको राजकीय भ्रमण सकेर फर्किने क्रममा मारिएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । प्रधानमन्त्रीको दस्ता गुडाउटा जिल्लामा स्थानीय समयअनुसार राति १० बजे दुर्घटनामा परेको थियो । मुस्सेराको बाहिरपट्टि रहेको एक प्रहरी चौकी पार गर्नेबित्तिकै दुर्घटना भएको थियो ।

अब्खाजियाका राष्ट्रपति राउल खजिम्बा पनि उक्त दस्तामा थिए । उनलाई कुनै चोटपटक लागेको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार, विपरीत दिशाबाट आइरहेको एक कारले नियन्त्रण गुमाएपछि प्रधानमन्त्रीको टोलीको एक गाडीमा ठोक्किएको थियो । उक्त घातक ठक्करपछि गागुलियाका अंगरक्षक र चालकलाई पनि अस्पताल लगिएको थियो र उनीहरूको स्वास्थ्य सन्तोषजनक रहेको गृहमन्त्रालयले जनाएको छ ।

अब्खाजिया सन् २००८ को अगस्टमा जर्जियाले दक्षिण ओसेटियामाथि आक्रमण गरेपछि जर्जियाबाट स्वतन्त्र भएको थियो तर उसलाई पाँच देशले मात्र मान्यता दिएका छन् । रुस, निकारागुवा, भेनेजुएला, नाउरु र सिरियाले उसलाई मान्यता दिएका छन् । गागुलिया सन् २०१८ को अप्रिल २५ बाट सरकारप्रमुख भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्