बिजुली बाल्ने आसमा बाइस बर्ष बित्यो



धनवीर दाहाल, रुकुम ।

सामान्यतया बिद्युतको पोल र तार जडान भएपछि स्थानीयहरु आफ्नो घरमा बिद्युली बल्ने आस गर्नु स्वभाविक हो । तर रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ मा बिजुलीका पोल गाडिएको २२ वर्ष वितिसक्दा समेत अझै विद्युत सञ्चालन हुन सकेको छैन् । गाउँमा पोल र तार झुण्डीएपनि अझैसम्म बिजुली बाल्न नपाएको स्थानीय आसविर ओलीको दुखेसो छ ।

साविकको छिवाङ् गाविसमा पर्ने मुसिकोट नगरपालिकाको वडा नं १४ मा २०५३ सालमा ६० वटा पोल गाडिएको थियो । विद्युत बाल्ने आशाले आफुहरुले घर घरमा मिटर बक्स समेत खरिद गरेर राखेको स्थानीयले बताएका छन् । विद्युत सञ्चालन गरिदिनको लागि जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण वितरण शाखाका साथै यहाँबाट निर्वाचित सांसदलाई बारम्बार आग्रह गरिएको भएपनि सुनुवाई नभएको दुखेसो मदन बिष्टले बताउनुभयो ।

लामो समयदेखी विद्युत सचालन नहुँदा गाउँमा गाडिएका पोलहरु चोरी हुन थालेका छन् । पोलमा झुण्डीएका तार अलपत्र अवस्थामा रहेका छन् । विद्युत सञ्चालन नहुँदा यहाँका करिब दुई सय ४० घरधुरी अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय टेकबहादुर विष्टले विद्युत सञ्चालनको लागि पटक पटक विभिन्न ठाउँमा आग्रह गर्दा समेत कसैबाट सुनुवाई नभएको बताउनुभयो । विभिन्न निर्वाचनको समयमा उम्मेदवारले छिट्टै विद्युत सञ्चालन गरिदिने आश्वासन दिएपनि पुरा नगरेको अर्का स्थानीय टेकबहादुर खड्काले बताउनुभयो ।

संसद्, प्रदेश र स्थानीयको निर्वाचनमा समेत उम्मेदवारले तीन महिना भित्रमा विद्युत सञ्चालन गरिदिने आश्वासन दिएपनि २२ वर्ष वितिसक्दा समेत विद्युत सञ्चालनमा कुनै वास्ता नगरेको उहाँको दुखेसो छ । .नेपाल विद्युत प्राधिकरण रुकुम वितरण केन्द्रले पोल गाडिएको लामो समय वित्दा समेत विद्युत सञ्चालन नभएको स्वीकार गर्दै जतिसक्दो छिटो विद्युत सञ्चालनको लागि बोलपत्र आह्वान भएर सम्झौता समेत भइसकेकाले अबको ५÷७ महिनामा सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्