आफूमात्र जान्ने हुँ भन्दा सरकारको यो बिजोग भयो



राधाकृष्ण मैनाली आजभोलि आफूलाई बामपन्थी नेता भन्न रुचाउनुहुन्छ। पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का केन्द्रीय सल्लाहकार हुँदै एमाले भएर पनि त्यति चित्त बुझाउनुभएको थिएन। प्रचण्ड, बाबुराम भट्टराईहरूसँग कुरा नमिलेपछि माओवादीमा चुपचाप रहनुभएका उहाँ नेकपाको एकतापछि भएका गतिविधि हेरेर मात्र बस्नुभएको छ। तत्कालै सक्रिय राजनीति गर्ने सोचमा नदेखिनुभएका उहाँ २०४८ र २०५१ सालमा झापाबाट संसद् बन्नुभएको थियो। ३ पटकसम्म संसदीय व्यवस्थामा र १ पटक अन्तिममा राजाको प्रत्यक्ष शासनमा शिक्षा तथा खेलकुद मन्त्री बन्नुभएका उहाँलाई अहिलेको सरकारको गतिविधि चित्त बुझेको छैन। अहिले नै आलोचना गर्न मन नभए पनि सरकारको शुरूआती लक्षण सन्तोषजनक नभएको मैनालीको टिप्पणी छ। सरकारले गफमात्र बढी गरेको र न्यूनतम् आवश्यकतामा पिटिक्कै ध्यान नदिएको विश्लेषण गर्ने उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी–

अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्थालाई नियालेर विश्लेषण गर्ने हो भने बाहिर दुईखाले तर्क आएका छन्। ओली सरकार बनेको ६ महिना भएको छ, कसैकसैले राम्रो भइरहेको छ भनेर अन्धभक्त समर्थन गरेका छन् तर सामान्य सचेत मनिसहरू भने सरकारको पक्षमा खासै देखिन छोडेका छन्। यसको अर्थ ६ महिनामा नै सबैथोक भइहाल्छ भन्ने त होइन तर लक्षण त्यति राम्रो भएन। कमसेकम यो समयमा एउटा प्रारूप आउनुपर्ने हो त्यो पाइएन, यसरी नै थप ६ महिना बित्यो भने त्यो अवस्था झन् दर्दनाक हुन्छ। यो सरकारलाई काम गर्नका लागि एकातिर बहुमत छ अर्कोतिर अवसर पनि छ त्यसैले यो गर्ने बेलामा गफ थोरै गरेर कामले जनताको मन जित्नुपर्छ। गरिबी उन्मुलन गर्ने , समाजवाद ल्याउने भनिएको छ तर गरिबी निवारणका लागि कुनै पनि खाका अघि बढाइएको छैन। समाजवाद्उन्मुख संविधान भनिन्छ तर यसका लागि पनि केही त गर्नुपर्ला नि। आम जनताको जीवनस्तर उकास्ने १र२ वटा काममात्र गरे पनि पुग्छ।

भनेपछि गफ मात्र बढी भयो काम भएन भन्ने तपार्इंको बुझाइ हो ?
भन्नैपर्दा सरकार दिशाहीन छ। उसलाई के गर्ने भन्ने नै थाहा छैन। हावादारी गफ मात्र गरेर जनताको विश्वास जितिन्छ भन्ने दिन सकिएका छन्। चर्का नारा र ठट्यौली पाराका कुरा जसले गरे पनि कसैले रुचाउन छोडिसकेका छन्। यो मेरो मात्र होइन जनताको गुनासो हो। हिजो बिपी कोइरालाले समाजवादका लागि कमसेकम २ हल गोरुले जोत्ने मेलो भएको खेत हुनुपर्ने र स्वच्छ पानी पिउन पाउनुपर्छ भन्नुभएको थियो, पछि राजा वीरेन्द्रले एसियाली मापदण्डअनुसार यसलाई बढाउँदै लाने भन्नुभयो। नेपालले अहिले ९४ प्रतिशत सामान आयात गर्छ र बाँकी ६ प्रतिशत मात्र निर्यात गरेको छ। आयात घटाएर निर्यात बढाउन सरकारले योजना बनाउन सकेको छैन, जनतामा राहतका कार्यक्रम लान सके जीवनस्तर सुधार्न समस्या छैन। मुख्य कुरा सरकारले गाउँगाउँमा सडक बिस्तार गर्नुपर्छ, यही सडकबाट हाम्रो सामान विदेशसम्म पुग्न सक्छ र आम्दानी बढ्छ। कर्णालीको स्याउ बंगलादेश र श्रीलंकामा पु¥याउन सके मात्र पनि आम्दानीको बाटो बन्ने थियो तर त्यसतर्फ कसैले ध्यान दिएको छैन। सडक बनेपछि पर्यटनको सम्भावना हुन्थ्यो र सँगसँगै धेरैले रोजगार पनि पाउँथे। जे सामान पनि विदेशबाट ल्याएर जीवन चलाउन सम्भव छैन। प्रधानमन्त्री ओलीले रेल, ग्याँस र पानीजहाजको कुरा गर्नुभएको छ यसको विरोध गरेको होइन तर कति सम्भव छ कि छैन भन्ने प्रमुख कुरा हो, यो अहिले चाहिएको छैन भने प्राथमिकतामा अन्य विषयवस्तुलाई समावेश गरिनुपर्छ। सरकारले तुइन बिस्थापित गर्ने भनेको छ यो पुरानै कुरा हो तर किन नगरेको रु मैले ओलीजी यसपालि प्रधानमन्त्री हुने दिन बिहानै भेटेर पनि तुइनको विषय सम्झाएको थिएँ। पूर्व–पश्चिम रेलमार्ग बनाउने भनेको इतिहास भइसकेको छ, यो बनाए मात्र पनि एउटा बाटो सहज हुन्छ।

गणितीय रूपले हेर्दा सरकार ५ वर्षकै हो तर

राजनीतिक रूपले सरकारको रूप त्यतिबेलासम्म

कस्तो हुन्छ भन्ने प्रश्न छ। गणतन्त्र आइसकेको छ,

सबै किसिमका आन्दोलन सकिएका छन् ।

अबको एजेन्डा विकास र समृद्धि हो भनिरहँदा

त्यो अभियान चलाउन कसैले पनि बाधा गरेको छैन।

सरकारको मुख्य समस्या के होला ?
सबैभन्दा ठूलो कुरा सरकारले अरूसँग त होइन आफूभित्र पनि सत्ता पक्षसँग र अरू आफूजस्तै पुराना नेतासँग सरसल्लाह गरेर केही काम गरेको देखिएन। आफैंमात्र जान्ने हुँ र मभन्दा ठूलो अरू कोही छैन भन्ने पारा ओलीजीको गलत छ । मैले उहाँलाई राम्ररी चिनेको छु, उहाँमा अहमता छ, छोटो बुद्धि छ र अल्पदृष्टि छ, यो नै घातक हो। ओलीजीलाई बेइमान त भन्दिन तर पनि बेलुनमा धेरै हावा भरियो भने कुनै दिन फुट्न सक्छ। विश्वका जुनसुकै देश सहकार्य र समझदारीबाट चलेका छन्। न त सरकारले अरूलाई सोधेको छ न त आफैं जान्दछ। २०५१ सालमा मनमोहन अधिकारी सफल हुनुभएको एक्लै अघि बढेर होइन र एक्लै हिँड्दा कसैको पनि प्रगति भएको छैन। त्यही सफलतालाई आजसम्म एमालेले नारा बनाएको छ। सामाजिक व्यक्तित्व र अभियन्ताहरूसँग कमसेकम सोधीखोजी गरे पनि केही हुन सक्थ्यो।

निर्वाचनमा जाँदा गरिएका प्रतिवद्धता पूरा गर्न के गर्नुपर्ला ?
निर्वाचनमा कसैले पनि केही गर्छु भन्न बाँकी राखेनन्, एकैछिनमा सडक बनाउँछु भने, धुलो सफा गर्छु भने। वृद्धभत्ता ५ हजार रुपिँया दिन्छु भन्ने कथा नै भयो। दिन्छु भनेपछि मानिसले आश गर्छ त्यसैले धेरै कुरा नगरेकै भए हुन्थ्यो। अर्को कुरा गर्दा डा। गोविन्द केसीको जायज माग पूरा गर्न सरकार अलमलियो। जायज माग नै हुन् भनेर बुझेपछि पूरा गर्न त्यसरी कसैको बाटो हेर्नुहुँदैनथ्यो। पछि यही एजेन्डालाई अरू पार्टीले बोके। अर्काको माग पूरा गर्दा सानो भइएला भन्ने सोचको अन्त्य हुनुपर्छ।

यो सरकार ५ वर्षका लागि हो भनिएको छ, के होला ?
गणितीय रूपले हेर्दा सरकार ५ वर्षकै हो तर राजनीतिक रूपले सरकारको रूप त्यतिबेलासम्म कस्तो हुन्छ भन्ने प्रश्न छ। गणतन्त्र आइसकेको छ, सबै किसिमका आन्दोलन सकिएका छन् ।अबको एजन्डा विकास र समृद्धि हो भनिरहँदा त्यो अभियान चलाउन कसैले पनि बाधा गरेको छैन। २ वटा पार्टी मिलेका छन्, यो राम्रो पाटो हो तर सँगसँगै मिलेको हो कि मिलाइएको हो भन्ने प्रश्न पनि विश्लेषण गर्नुपर्छ। पार्टीभित्र पनि एकअर्कामा द्वन्द्व छ, भागवण्डा गर्नमै सबैको ध्यान गएको छ। आजभोलि गाइजात्रा छ तर नेपालको राजनीतिमा त १२ महिना नै गाइजात्राजस्तो भएको छ। भाषणमा जतिसुकै राम्रा कुरा गरे पनि प्रधानमन्त्रीले मात्र भ्रष्टाचार नगरेर देश बन्न सक्दैन। माथिदेखि तलसम्म भ्रष्टाचारको जालो फैलिएको छ, जनताले हक अधिकार उपयोग गर्न पाएका छैनन्। एउटा पनि असल नेता भएन जसले देशका लागि सोच्न सकोस्। अहिले बिमस्टेकको शिखर सम्मेलन सकिएको छ। सडक बनाउने तयारी पहिले नै गरेको भए अन्तिम अवस्थामा आएर बाटो टालटुल गर्नुपर्दैनथ्यो मैले भन्ने खोजेको कुरा सरकारको दूरदृष्टि देखिएन, टालटुले मानसिकतामा सीमित छ। प्लेनमा चढेजस्तो हुनुपर्ने कछुवाको गतिजस्तो भयो सरकार।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिका कस्तो लाग्छ ?
कांग्रेस आफैंमा कमजोर भएको छ यो निर्वाचनपछि। आन्तरिक रूपमा संगठित हुन सकेको छैन। कांग्रेसले चाहेअनुसारको संविधान बन्न पनि सकेन। त्यसैले उसले गर्ने काम अहिलेका लागि केही छैन। कम्युनिस्टले संविधानमा आफ्ना कुरा लेखाए तर पनि ऊ गतिहीन छ ।त्यसैले अलमलबाहेक प्रष्ट दृष्टिकोण देख्न सकिएको छैन। संविधानलाई सही ढंगले प्रयोग गर्ने हो भने प्रसस्तै सम्भावना देखिन्छन्। अहिले जताततै राजनीति घुसेको छ, राजनीतिबाहेकको मान्छे नै पाइँदैन। पेसा नै पिच्छे राजनीतिक गन्ध भएकाले यसको अन्त्य हुन सकेन भने सधैंका लागि दशा बन्ने छ। मन्त्रालयमा १० प्रतिशत पनि कर्मचारी मात्र भएर काम गरेका छैनन्, सबैजसो पार्टीको फाइदाका लागि मात्र काम गर्छन्। कर्मचारी सुन्ने र मुस्कुराउने गर्छन् तर काम गर्दैन, यो विकृति रोक्नुपर्छ तर पनि दलकै नेताहरू यो प्रथा हटाउन मान्दैनन्।

तपाईंको अबको राजनीति यात्रा के हुन्छ ?
२ पटक संसदीय निर्वाचन जितेँ, ४ पटक मन्त्री भएँ, जे सकें देशका लागि राम्रै गरेँ भन्ने लग्छ। म त अहिले राजनीति के हुँदै छ, नेताहरूले के गर्छन् हेरेर बसेको छु , बोल्दा पनि सुन्ने छैनन्। हिजो एकता नहुँदा माओवादी केन्द्रमा पनि थिँए ।त्यसपछि एमाले भएँ तर केन्द्रीय सदस्यभन्दा माथि लाने भनियो लगिएन अनि त्यस्तैउस्तै भयो। एकतापछि कतैबाट केही अत्तोपत्तो भएन। माओवादीमा रहँदा प्रचण्डजी, बाबुरामजीहरूसँग कुरा मिलेन मैले बन्दुकको कुरा गर्न सकिनँ, उहाँहरूले मेरो कुरा पचाउन सक्नुभएन। ओलीजी त १७–१८ महिना मेरै काखमा खेलेका हुन् ।त्यसैले धेरै विरोध गरेर सस्तो लोकप्रियता कमाउनु छैन। राम्रो काम गरेको सुन्न पाऊँ यही इच्छा छ।

प्रतिक्रिया दिनुहोस्