डेल पोट्रो ९ वर्षपछि फाइनलमा



न्युयोर्क, (एजेन्सी)
अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रो ९ वर्षपछि युएस ओपनको फाइनलमा पुगेका छन् । सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राफाल नाडाल रिटायर्ड भएपछि डेल पोट्रो सहजै फाइनलमा पुगेका हुन् । उनले लगातार दुई सेट ७–६, ६–२ ले जित्दै अग्रता लिएका थिए ।

स्पेनी खेलाडी नाडालले घुँडाको समस्याले गर्दा खेल परित्याग गर्नुपरेको बताएका थिए । उनले खेल दौरान दुई पटक उपचार लिनुपरेको थियो । नाडालले बताए—खेल्न मलाई गाह«ो भएको थियो । घुँडा धेरै नै दुःख्न थालेपछि खेल्न छाडे । मलाई रिटायर्ड हुन मनपर्दैन । तर के गर्ने अर्को सेट खेल्न मैले नसक्ने भइसकेको थियो ।

पहिलो सेट २–२ बराबरी हुँदा नै नाडाललाई पीडा हुन थालेको थियो । उनले ४–३ ले अग्रता लिँदा र दोस्रो सेटमा २–१ ले अगाडि हुँदा दुई पटक उपचार लिएका थिए । तर उनले पहिलो सेट टाइब्रेकमा गुमाए भने दोस्रो सेटमा लगातार गेम हार्दै उनी दुई सेटले पछि परेका थिए । नाडालले बताए—उपचारले केही पनि भएन । मैले पीडा कम हुने आसा गरे पनि त्यसमा केही सुधार भएन । गुडबाई भन्न मेरो लागि एकदमै कठिन भएको थियो । तर यस्तो अवस्थामा पुगेपछि निर्णय लिनुपर्ने हुन्छ ।

योसँगै नाडालको १८औं ग्रान्डस्लाम उपाधि जित्ने आसा यस सिजनमा समाप्त भएको छ । उता डेल पोट्रो युएस ओपनमा दोस्रो उपाधि निकट पुगेका छन् । उनले आईतबार हुने फाइनलमा १३ ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचसँग खेल्नेछन् । सर्बियाका जोकोभिचले जापानका केइ निशीकोरीलाई सीधा सेटमा हराएका थिए ।

२९ वर्षीय डेल पोट्रोले सन् २००९ मा रोजर फेडेररको एकछत्र राज समाप्त गरेका थिए । फेडेररले यस कोर्टमा लगातार ५ उपाधि जितेकोमा सो वर्ष डेल पोट्रोले फाइनलमा जित हात पारेर उपाधिमाथि कब्जा जमाए । त्यतिबेला उनले स्विस खेलाडीको लगातार ४१ खेलको जितको क्रमलाई समाप्त पारेका थिए । नाडाल रिटायर्डमा उनले बताए—यो खेल जित्ने उत्कृष्ट माध्यम होइन । मलाई राफाविरुद्ध खेल्न मन पर्छ किनभने उनी खेलमा सबैभन्दा ठूलो फाइटर हुन् ।

जोकोभिच सहजै फाइनलमा
नोभाक जोकोभिचले केइ निशीकोरीलाई ६–३, ६–४, ६–२ ले हराएर युएस ओपनको फाइनलमा पुगेका छन् । योजितसँगै जोकोभिच १४औं ग्रान्डस्लाम जितेर पिट साम्प्रासको ग्रान्डस्लाम उपाधिसंख्या बराबरी गर्न अग्रसर भएका छन् । उनले नाडाल रिटायर्ड भएपछि बताए—यसको मतलब संसार मसँग छ । मैले आफनो उत्कृष्ट प्रदर्शन गर्न कोसिस गरिरहेको छु र मैले सकेको पनि छु ।

जोकोभिचले यसै वर्षको ग्रान्डस्लाम उपाधि विम्बल्डनको रुपमा जितेका छन् । उनले सो ग्रान्डस्लाम उपाधि २०१६ को फ्रेन्चओपनपछि जितेका हुन् । २०१७ को वर्ष उनका लागि ज्यादै पीडादायक बन्यो । उनी कुहिनाको चोटले प्रतियोगिताबाट टाढा हुँदै गएका थिए । तर यस वर्ष विम्बल्डन जितेर उनले साबित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्