मन्त्रिमण्डल हेरफेर हुनेवाला छैनः प्रधानमन्त्री ओली



काठमाडौैं  । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरेका छन् ।

आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै उनले, सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको र छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘६ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छौं । पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्ष्भित्र काठमाडौँका बाटा पक्की हुन्छ । कालोपत्र सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।’

चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उनले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताए । उनले सङ्घीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गरेका छन्।

मुलुकी फौजदारी देवानी कार्य्विधि संहिता एक वर्षअघि संसदबाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँदै उनले त्यसका नाममा सडकमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

महासङ्घका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्