१५ औ निजामती सेवा दिवस प्युठानमा पनि मनाईयो



सलिम अन्सारी प्यूठान । १५ औँ निजामती सेवा दिवस प्यूठानमा पनि भव्यताका साथ मनाईएको छ । नतिजामुखी प्रशासनस् समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ शुक्रवार दिवस मनाईएको हो।

जिल्ला समन्वय समितको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश बिष्णुप्रसाद गौतमले निजामती सेवा मुलुकको धरोहरको रुपमा रहेको र जस्तोसुकै कठीन अवस्थामा पनि सेवा प्रदान गर्दै आइरहेको बताए ।

कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निजामती सेवा स्थायी सरकारको रुपमा रहँदै मुलुकमा भएका सबै परिवर्तनमा साथ दिदैं आएको उल्लेख गरे।

राजनीतिक रिक्तताका अवस्थामा पनि गाउँगाउँमा सरकारको अनुभूति दिलाएको बताउदै प्रजिअ गैह्रेले निजामती कर्मचारीलाई आफ्नो पेशागत आचरणमा रही तोकिएको जिम्मेवारी कुशलताका साथ पुरा गर्न र नागरिकमैत्री भइ सेवा प्रवाह गर्न निर्देशन समेत दिए। साथै उनले निजामती कर्मचारीका समस्या र गुनासाका बारेमा सरकारले उचीत ध्यान दिएर कर्मचारीको मनोबल उकास्नुपर्ने धारणा राखे । उक्त कार्यक्रममा प्रजिअ गैह्रेले निजामती सेवासँग सम्बन्धित २ वटा गजल पनि बाचन गरेर सुनाए ।

निजामती सेवा दिवसको अवसरमा जिल्लाको महेन्द्र मावि खलंगाबाट जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो । यसैगरी कुर्सीदौड प्रतियोगिता आयोजना तथा यस आर्थिक बर्षमा प्यूठान जिल्लाका विभिन्न कार्यालयबाट अवकाश हुने कर्मचारीलाई सम्मान समेत गरिएको छ । दिवसकै अबसरमा बिहिबार जिल्ला सदरमुकाममा रहेका बिभिन्न सरकारी कार्यालयहरुमा सरसफाई गरिएको थियो।

यसैगरी निजामती सेवा दिसव २०७५ का अवसरमा आजैदेखि जिल्ला प्रशासन कार्यालय प्यूठानले सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन कार्यालयभित्रै प्राथमिक उपचार गर्ने व्यवस्था मिलाएको छ भने सेवाग्राहीका पृष्ठपोषणका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारामको पनि शुरुवात गरेको छ ।

जिल्ला मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गैह्रेको अध्यक्षता र माननीय जिल्ला न्यायाधीश बिष्णुप्रसाद गौतम प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरे प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी लगायतले निजामती सेवाको विषयमा धारणा राखेका थिए ।

२०१३ साल भदौ २२ गते पहिलोपटक निजामती सेवा ऐन लागू भएको सम्झनामा २०६१ बाट यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्