मिस नेपाललाई व्यवसायीको १ लाख



हेटौंडा,(नेस)। मकवानपुरको कैलाश गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माण गर्न मकवानपुरका व्यवसायीले मिस नेपाल शृंखला खतिवडालाई नगद सहयोग गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरे चेली मिस नेपाल–२०१८ शृंखला खतिवडालाई १ लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो।

संघका अध्यक्ष कृष्ण कटुवालले वन होम फाउन्डेसनद्वारा कैलाश गाउँपालिकामा निर्माणाधीन स्वास्थ्य चौकीका लागि संघ कार्यसमितिका तर्फबाट १ लाख रुपियाँको चेक खतिवडालाई हस्तान्तरण गरेका हुन्। खतिवडाले मकवानपुरको गरिमा उच्च बनाएको र ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी स्थापना गरी बिरामीको उपचारमा सक्रियता देखाएकोमा उनले खुसी व्यक्त गरे। शृंखलालाई मिस वल्र्डका लागि जिल्लाका व्यवसायीले शुभकामनासमेत दिए। मिस नेपाल खतिवडाले मिस वल्र्डका लागि ब्युटी विथ अ पर्पस शीर्षकअन्तर्गत कम्तीमा एउटा सामाजिक कार्य गर्नुपर्ने भएकाले गृहजिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिका–७ मा स्वास्थ्यचौकी भवन निर्माण गर्न लागेको बताइन्।

सामान्य स्वास्थ्य परीक्षणका लागि सर्वसाधारण बिरामीलाई ५ घन्टा पैदल हिँड्नुपर्ने समस्याबाट मुक्त गराउन उक्त स्थानमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको र सोका लागि सबै क्षेत्रबाट सहयोग संकलन भइरहेको मिस नेपाल खतिवडाले बताइन्। उनले तिहारअगाडि स्वास्थ्य चौकी निर्माण गरिसक्ने लक्ष्य राखिएको जानकारी दिइन्। स्वास्थ्य चौकी निर्माणमा ६० लाख रुपियाँ अनुमानित खर्च लाग्ने खतिवडाले बताइन्। नेपालमा सरकारले मिस नेपाल प्रतियोगितालाई बुझन नसकेको भन्दै सरकारले फरक व्यवहार गरेको भन्दै चित्त दुःखाएकी मिस नेपाल वल्र्ड खतिवडाले गृहजिल्ला मकवानपुरको विकट चेपाङ बस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर सरकारलाई चुनौती दिनेभएकी हुन्।

उनले सोसल साइटमार्फ भिडियो तथा फोटो सेयर गर्दै स्वास्थ्य संस्था स्थापना गर्ने बताएकी थिइन्। कैलाश गाउँपालिका–७, भार्ता पुगेकी उनले चेपाङ परिवारको घरमै पुगेर भलाकुसारी गरेकी थिइन्। चेपाङको बाहुल्य रहेको भार्तामा बालविवाह ८६ प्रतिशत रहेको उल्लेख गर्दै उनले त्यहाँका धेरैजसो बालबालिका कुपोषणको शिकार भएको बताएकी छन्। उनले ८ सन्तानकी आमा ३२ वर्षीया महिलालाई भेटेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्