रामकृष्णको गीत अन्तर्राष्ट्रिय महोत्सवमा



सुगमदेखि फिल्मी संगीतसम्म लोकप्रिय गायक रामकृष्ण ढकालको गीत अचेल पाइलैपिच्छे अमेरिकाको न्युजर्सीमा जारी गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिबल अफ जर्सी सिटी अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि चयन भएको छ।

साहित्यकार कृसु क्षेत्रीको शब्द, गायक ढकालको स्वर र हिमाल सागरको संगीत रहेको गीत सो महोत्सवका लागि छानिएको हो। महोत्सवमा यो गीतसँगै ९२ मुलुकका अन्य म्युजिक भिडियो छानिएका छन्। नेपालबाट भने यो गीतको म्युजिक भिडियो मात्र चयनमा परेको हो।

गीतको शब्द रचनाकार कृसु क्षेत्री अमेरिकाको न्युयोर्कमा रहेको दूतावासमा नेपाल सरकारका महावाणिज्य दूत हुन्। हालै साझा प्रकाशनबाट चराको गीत नामक चर्चित कविता संग्रह प्रकाशन गरेका साहित्यकार क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको हो। यस गीतको म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामीले गरेका छन्।

यस चयनले अत्यन्त खुसी भएको अमेरिका–क्यानडाको सांगीतिक भ्रमणमा रहेका गायक रामकृष्ण ढकालले बताए। ‘हाम्रो गीत संगीतले अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएकामा हामी पूरै टिम खुसी छौं’ –अमेरिकाको न्युयोर्कमा रहेका गायक ढकालले नेप्लिज डायस्पोरासँग खुसी साटासाट गर्दै भने। मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका स्रोताले निकै रूचाएका छन्। आगामी २० सेप्टेम्बरदेखि २३ सेप्टेम्बरसम्म चल्ने प्रतियोगितामा यो गीत सम्मानित भए अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियोसमेत हुनेछ।

प्रतिक्रिया दिनुहोस्