सेरेना २४औं ग्रान्डस्लाम उपाधि निकट



न्युयोर्क, (एजेन्सी)
सेरेना विलियम्स आमा बनेपछि पहिलो ग्रान्डस्लाम उपाधि जित्न निकट पुगेकी छन् ।

युएस ओपनअन्तर्गत महिला सिंगल्स सेमिफाइनल खेलमा सेरेनाले एनास्टासिया सेभास्टोभालाई मात्र ६६ मिनेटमा हराएकी हुन् । अमेरिकी खेलाडीले लात्भियन १९औं वरियता सेभास्टोभालाई ६–३, ६–० ले पराजित गरिन् । यसै वर्ष जुलाईमा सम्पन्न विम्बल्डन फाइनलमा पुगे पनि उनी एन्जेलिक केर्बरसँग हारेकी थिइन् ।

३६ वर्षीया सेरेनाले फाइनलमा जापानकी नाओमी ओसाकासँग उपाधिको लागि खेल्नेछिन् । २०औं वरियता प्राप्त ओसाकाले गत वर्षको रनर अप मेडिसन कीजलाई हराएकी थिइन् । सेरेनाले यदि शनिबार हुने खेल जितेमा मार्गेरेट कोर्टको २४ ग्रान्डस्लाम सिंगल्स उपाधिसँग बराबरी गर्नेछिन् । महिला सिंगल्समा सबैभन्दा बढी २४ ग्रान्डस्लाम विजेता अस्टे«लियाकी कोर्ट पहिलो स्थानमा छिन् ।

गत वर्ष छोरी ओलम्पिया जन्माएपछि प्रतियोगितामा सहभागि हुन नसकेकी सेरेनाले बताइन्—यो साँच्चिकै अदुभत भएको छ । एक वर्ष अघिसम्म मैले बच्ची जन्माएर अस्पतालमा मेरो जीवनको लागि लडिरहेको थिएँ । हरेक दिन यस कोर्टमा आएर यस खेल खेल्न अवसर पाएकोमा म आभारी छु । खेलमा के हुन्छ त्यसमा मलाई मतलब छैन । मैले पहिल्यै जितेको मानेर खेलेको हुन्छु ।

सेरेना तथ्यमा

—युएस ओपनमा नवौं र करियरमा ३१औं ग्रान्डस्लाम खेल्दै ।
—सन् २०१४ मा कारोलीन वजनीयाकीलाई हराएपछि युएस ओपनमा फाइनलमा पुगेकी ।
—हाल १७औं वरियता प्राप्त सेरेनाले युएस ओपनमा ६ पटक जितिन् ।
—६ पटक जित्नेमा पूर्व अमेरिकी खेलाडी क्रिस एभर्ट रहेकी छिन् ।
—सेरेना आधुनिक युगमा ग्रान्डस्लाम फाइनल पुग्ने तेस्रो पाको महिला खेलाडी हुन् ।
—यदि जितेमा सेरेनाले २०१७ अस्टे«लियन ओपनमा पाको उमेरमा जितेको आफनै रेकर्ड तोड्नेछिन् ।

पाको उमेरमा उपाधि जित्नेहरु
खेलाडी उमेर ग्रान्डस्लाम नतिजा
मार्टिना नाभ्रातिलोभा ३७ वर्ष, २५८ दिन १९९४ विम्बल्डन रनरअप
भेनस विलियम्स ३७ वर्ष, २९ दिन २०१७ विम्बल्डन रनरअप
सेरेना विलियम्स ३६ वर्ष, ३४९ दिन २०१८ युएस ओपन नतिजा आउन बाँकी
सेरेना विलियम्स ३६ वर्ष, २९३ दिन २०१८ विम्बल्डन रनरअप
भेनस विलियम्स ३६ वर्ष, २२६ दिन २०१७ अस्टे«लियन ओपन रनरअप
सेरेना विलियम्स ३५ वर्ष, १२५ दिन २०१७ अस्टे«लियन ओपन च्याम्पियन

ओसाकाको इतिहास


नाओमी ओसाकाले कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको फाइनल पुग्ने पहिलो जापानी खेलाडी बन्दै इतिहास रचेकी छन् । युएस ओपनअन्तर्गत सेमिफाइनल खेलमा अमेरिकी खेलाडी मेडिसिन कीजलाई ६–२, ६–४ ले हराएर ओसाका फाइनल पुगिन् । २० वर्षीया खेलाडीको अर्की अमेरिकी खेलाडी सेरेना विलियम्ससँग उपाधिको लागि भिडन्त हुनेछ ।

ओसाकाले कीजलाई यसअघिका तीनै भेटमा हराउन सकेको थिएन । उनले बाल्यकालको आदर्श खेलाडी सेरेनासँग खेल्न चाहेको सपना पुरा हुने बताएकी छिन् । सेरेनाले सन् १९९९ मा पहिलो ग्रान्डस्लाम उपाधि जित्दा ओसाका एक वर्षकी थिइन् । ओसाकाले पहिलो डब्ल्यूटीए उपाधि इन्डियन वेल्समा जितेकी थिइन् । एक सातापछि उनले मायामीमा सेरेनालाई पनि हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्