पुस्तक चर्चा: ‘लक्षितजी’को मानवता हराएको शहर



-सुमित्रा सुमी
साहित्य लेखन आफैंमा जटिल कार्य हो । त्यसमा पनि कविता सृजना गर्नु गम्भीर र चुनौतीपूर्ण काम हो । अझ सिङ्गो काव्यिक कृति निकाल्नु वास्तवमा सहज छैन । यो कठिन कार्यलाई पार गर्दै मदनमणि पोखरेल ‘लक्षितजी’ मानवता हराएको शहर कविता सङ्ग्रह बोकेर उदाउनुभएको छ ।

रूपाटार–५, उदयपुरमा जन्म भए पनि हाल विदुर–१२, भहगाउँ, नुवाकोटमा बस्नुभएका मदनमणि पोखरेल साहित्यिक माहोलमा जन्मनु÷हुर्कनुभएको हो । त्यसैले उहाँका कुनै पनि कविताहरू कमजोर छैनन् । कृतिको नाम मानवता हराएको शहर भए पनि यसभित्रका कविताले शहरको मात्र प्रतिनिधित्व नगरेर सिङ्गो पृथ्वीको समग्र पक्षको वकालत गरेका छन् ।

यस कृतिमा मान्छेले भोग्नुपरेका विकृति, विसंगति, दुःख, समस्या आदिलाई उजागर गरिएको छ । साथै विविध समस्यालाई निरुत्साहित गरी समाजलाई परिवर्तन गर्ने प्रयास कविताबाटै गरिएको छ ।

कवि लक्षितजीको मानवता हराएको शहरदेखि शुरू भई ‘काला तारा’ शीर्षकका कवितामा पुग्दा ३२ वटा कविताहरूको माला बनेको छ । यस कृतिको नाम र आवरण पृष्ठले अस्तव्यत समुदायलाई देखाउन खोजेको छ ।

हाम्रा शहर भव्य छन् तर सभ्य छैनन् भन्ने कुरा झल्काउन खोजेको छ । यस कृतिमा भावुकता र वर्तमानको विविध समस्याप्रति विद्रोह छ । त्यस्तै समाजले भोगिरहेको यथार्थताको कटु सत्यता हरकवितामा पोखिएका छन् ।

वर्तमान अवस्थामा हामी आफू उन्नति गर्नुको साटो पुर्खाले आर्जन गरेको इज्जत, प्रतिष्ठा र शानलाई जोगाउन नसक्ने भएका छौं । देशमा सुशान्ति कायम हुन सकेको छैन । बेरोजगारी अत्यन्तै बढेको छ । मानवशोषण बढेको छ ।

भ्रष्टाचारी र घूसखोरीले सीमा नाघिसक्यो । आफ्नाले आफ्नालाई चिन्दैनन् । मानवमा मानवीयता छैन । यस्ता समाजका कमजोर पक्षलाई कवितामा उतार्दै समाधानको बाटोसमेत खोजी गरेका छन् कवि लक्षितजीले । उनका कविताहरु निकै सहज र सरल छन् ।

कानुन भए सबै बहिरा अन्धा
मालामाल चल्दै छ खुलेआम दुई नम्बरी धन्दा
दानवको जगजगीमा मानवता प¥यो ओझेल
दुःख नमान
यस्तै हुन्छ दानवता चुलिएको वैरागी शहर
कोपिला र टुसाहरूमा मर्दछन् रहर ।

राजनीतिक परिवर्तनले ल्याएको सामाजिक बेथितिका साथै आजका मानिसको सोचाइ, भोगाइ र दैनिकीप्रति कवि सचेत र चिन्तित देखिएका छन् । समाजमा भएका विसंगति र विकृतिप्रति असन्तुष्ट व्यक्त गर्दै सुधारको निम्ति कवितामार्फत आह्वान गरेका छन् ।

 

शान्ति सबैभन्दा महत्वपूर्ण छ, मानवता अत्यन्तै आवश्यक छ । त्यसैले मानवताको खोजी गर्दै कुसंस्कार हटाउन कवि चनाखो देखिएका छन् । लेखनमा सामान्य कमजोरी भए पनि कविताका मीठा भावले कमजोरी ओझेलमा परेका छन् । मानवता हराएको शहर कृति नेपाली साहित्य जगत्को एउटा बलियो इँटा भएको छ ।

प्रतिक्रिया दिनुहोस्