काभ्रे सेवा समाजद्वारा सम्मान



काभ्रे सेवा समाजले हालै काभ्रे जिल्लामा जन्मिएर राष्ट्रमा महत्वपूर्ण योगदान गर्ने तीनजनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा रजिष्टार महेन्द्रनाथ उपाध्याय, साहित्यकार सूर्यप्रसाद लाकोजू र राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णु ओम बादे रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले दोसल्ला, माला र सम्मानपत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा कविता सङ्ग्रहको विमोचन गर्दै प्रमुख अतिथि सरुभक्तले साहित्यको महत्व सर्वोपरि रहेको विचार व्यक्त गरे । ‘समाज, राष्ट्र, मानवता, सामाजिक, सांस्कृतिक परिवेश बोकेका कविताहरू कालजयी बन्छन्’, उनले भने ।

विशेष अतिथि डा. तुलसी भट्टराईले उमेरभन्दा अघि बढेर कवि सूर्य लाकोजू सिर्जना कर्ममा तल्लीन रहेको विचार व्यक्त गरे । साहित्यकार डा. नवराज लम्सालले सूर्यका कवितामा सस्तो लोकप्रियता र नाराबाजी नरहेको विचार ब्यक्त गरे । कार्यक्रममा डा. कुमार कोइराला, प्रा. ज्ञानु अधिकारी, मोहन दुवाल, सूर्यप्रसाद लाकोजूलगायतले आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रल्हाद केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन केशव थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्