टिप्पणी: अक्षरयात्रामा ‘नइ’ र ‘त्रिमूर्ति’ धन्य छन्…



-मोहन दुवाल
श्रीमान्, श्रीमती नरेन्द्रराज प्रसाईं÷इन्दिरा प्रसाईंको सङ्क्षिप्त भई जोडिएको नाम अर्थात् विशेषण हो ‘नइ’ । म यस अर्थमा राखेर ‘नइ’लाई हेर्न रुचाउँछु । वाङ्मय जगत्मा आफ्नो नाम र धाम बनाउन सफल ‘नइ’ ले नेपाली भाषा÷साहित्यको उत्थानमा जनस्तरबाट अझ श्रीमान्÷श्रीमतीको परिश्रमबाट भए–गरेका साहित्यिक गतिविधिहरु निकै उच्चस्तरका छन्, जुन मूल्याङ्कनयोग्य छन् ।

नरेन्द्रराज प्रसाईं कस्ता छन् ? उनी के गर्छन् ? कस्तो विचार राख्छन् ! इन्दिरा प्रसाईंबारे पनि यस्ता प्रश्नहरु निकै होलान् ? तर म भन्छु, वाङ्मय क्षेत्रमा यिनीहरुले पु¥याइरहेको योगदान उच्चस्तरका छन् । खरो भाषामा आफ्नो विचार राख्न नडराउने भाषा–साहित्यको क्षेत्रमा अनेकौं प्रकारका सङ्घर्ष गर्नुपरे पनि गर्ने भएकैले यिनीहरु यस क्षेत्रमा त्यसैले सफल छन् । जोडी मिलेका छन्, दुवै गतिशील भएकै कारणले यिनीहरुका कामकुरो पनि साहित्यमा बिकेका छन् ।

नरेन्द्र प्रसाईंसँग चिनजान भएको धेरै वर्ष भइसकेको छ, उनी मेरो सम्मानमा बोल्न कन्जुस्याइँ गर्दैनन् । ठूलो–ठूलो स्वरमा उनले सबैलाई सुन्ने गरी मेरोबारे ठाउँ–ठाउँमा बोलेका छन्– ‘मोहन दुवाल स्वाभिमानी छन्, उनी राष्ट्रवादी हुन् ।

यिनी खाँटी कम्युनिस्ट, मास्टर जागिर छोडेर कम्युनिस्ट भएर चुनाव लडेका !’ नेपालमा धेरैजसो व्यक्तिहरु चाकडी बजाउँछन्, आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्छन् । अरुलाई तल खसालेर आफू माथि चढ्न खोज्नेहरु थुप्रै छन् । लाज नमानीकन सम्मान÷पुरस्कार माग्छन् ।

मलाई घिन लाग्छ यस खालका प्रवृत्ति बोकेर आफू उठ्न खोज्नेहरुसँग । जीवनमा चाह गरिएन यस खालका घिनलाग्दा प्रवृत्तिहरु । ‘नइ’का मित्रहरु यस खालका प्रवृत्तिहरुसँग कति नजिक छन्, अर्थात् कति टाढा छन् । मलाई थाहा छैन ।

जनमतको यात्रामा निमग्न भई लागेको कारणले ‘जनमत’ मन पराउनेहरु मेरा लागि सधैँ प्रिय मित्र भएका छन् । यिनै प्रिय मित्रहरुको सहयोगमा जनमतको यात्रा गर्न पाएर म दङ्ग परेको छु । कार्यक्रममा पनि जनमतकै हितैषीहरुको भीड लाग्ने कारणले ‘औपचारिकता’ गर्नै जानिएन कोही–कसैसँग । मलाई के भन्दा हुन्, मलाई कस्तो खालको मान्छे सोच्दा हुन् । यात्रामा लाग्न पाएको छु ।

सन्दर्भ, नरेन्द्रराज प्रसाईंको । मलाई तानेर एकपल्ट घर लगेका छन्, मसँगै भारती र मेरा नातिनी ‘इरा’ पनि उनकै मोटरमा घर पुगेको केही वर्ष भयो । शनिबार फोन गरेर ३० गते आइतबारको कार्यक्रममा आउने हो कि भनी सोधे र कार्ड यादव भट्टराईसँग हुन्छ, यिनले भने र मैले हुन्छ ‘म आउँछु भनेँ ।’

२०७५ वैशाख ३० गते अपराह्न ३ बजे हुने भनिएको कार्यक्रम हेर्न भाटभटेनीस्थित ‘आम्रपाली’ मा एउटा मोटरमार्फत म पुगेँ । सभाकक्षमा ३ नबज्दै मान्छेहरुको भीड जुट्न थालिसकेको छ । चिनेका मित्रहरुसँग हात मिलाइयो र नरेन्द्रजीलाई मेरा जनमत प्रकाशनका पुस्तकहरु उपहारस्वरुप हातमा थमाइदिएँ । ३ बजेको कार्यक्रम ३ः४५ तिर मात्र शुरु भयो ।

हल भरियो । नरेन्द्रराज आफैंले कार्यक्रमको उद्घोषण गर्दै करिब १ घन्टा आफूलाई मन लागेका कुराहरु, विभिन्न घटनाक्रममा आफूले साँचेका सन्दर्भहरु कसैको मुलाहिजा नराखीकन स्पष्ट भाषामा यिनले आफ्ना विचारहरु राखे । पछि औपचारिक कार्यक्रमको उद्घोषण गर्न थालिन् इन्दिरा प्रसाईंले । नरेन्द्रकै ढङ्ग र पारामा यिनले पनि आफ्नो ढङ्गले कार्यक्रमको रुपरेखा प्रस्तुत गर्दै गइन् ।

नइ प्रकाशनले यसपल्ट यस कार्यक्रममा सम्मान गर्न खोजेका सबै प्रतिभाहरुलाई मञ्चमा डाक्ने र सम्मान गर्दै तल पठाउने दृश्य पनि निकै रोचक छन् । शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्ष पुगेको अवसर पारेर गरेको यस कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीलाई विशिष्ट अतिथिहरु डा. मोदनाथ प्रश्रित र दीनानाथ शर्माले माल्यार्पण गरिदिए ।

यस वर्ष सम्मानित हुनेहरुमा प्रा.डा. मानफ्रेद गेर्हार्द थ्रोई (जर्मनी), प्रा.डा. वेणीमाधव ढकाल, भरत जङ्गम, डा. ध्रुवचन्द्र गौतम, भगवती बस्नेत, किरण खरेल, नलराज शास्त्री नेपाल, डा. महेश्वर शर्मा, श्रीमती कृष्णादेवी शर्मा श्रेष्ठ, के.के. कर्माचार्य, प्रा. ठाकुर पराजुली, श्रीमती रेवती राजभण्डारी, विश्ववल्लभ, आनिक राना मगर (तेस्रो लिङ्गी), रुपा सरोद न्यौपाने, डा. परिधि शर्मा, सुश्री रिहना भट्टराई, एञ्जेलिना न्यौपाने, स्वन्ति श्रेष्ठ, सगुन श्रेष्ठ, रुनिषा सुनुवार, स्निग्धा देवकोटा छन् ।

यिनीहरुलाई नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार, नइचन्द्र पुरस्कार, नइ कीर्तिनिधि पुरस्कार, नइ खरा सुकीर्ति पुरस्कार, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार, नइ माजप पुरस्कार, नइ भूपालदुर्गा पुरस्कार, नइ खरा प्रदीप्ति पुरस्कार, नइ बुनुशर्मा पुरस्कार, नइ यउजा पुरस्कार, नई ईश्वर बराल पुरस्कार, नइ रेखा पुरस्कार, नइ कोइलीदेवी पुरस्कार, नइ रामलक्ष्मी पुरस्कार, नइ खरा गौरव पुरस्कार, नइ खरा पौरख पुरस्कार, नइ देरुनी खपु बाल पुरस्कार, नइ देरुनी खपु कोपिला पुरस्कार, नइ देरुनी खपु चिचिला पुरस्कार क्रमशः अन्तर्राष्ट्रिय व्यक्तित्वदेखि बाल प्रतिभाहरुसम्मलाई सम्मान गर्दै पुरस्कृत गरे । साहित्यिक कार्यक्रमहरुमा उच्च देखिँदो कार्यक्रम हेरेर म दङ्ग पर्दै बनेपा फर्किएँ ।

यसै गरी, भर्खरै मात्र अर्थात् भदौ ११ गते सोमबार पनि चौधौं त्रिमूर्ति दिवस समारोहमा आम्रपाली ब्याङ्क्वेटमा नरेन्द्र÷इन्दिरा प्रसाईंकै फोन–निम्तोमा पुगेँ । अपराह्न ३ नबज्दै हल भरिसकेको थियो । ठीक समयमा यादव भट्टराईले कार्यक्रम शुरु गरे । नरेन्द्र प्रसाईंको स्वागत–मन्तव्य सुनियो । इन्दिरा प्रसाईंको सभापतित्व मन्तव्यमा उनले निशङ्कोच फूर्तिले आफ्नो कुरा राख्दै भने– ‘स्रष्टाहरु भनेको कुनै दल विशेषका कार्यकर्ता होइनन् । कसैको चाकडीमा रमाउँदैनन् । स्रष्टा भनेको नेता÷राजनीतिज्ञहरुभन्दा महान हुन्छन् । कसैको गुलामीमा नबाँच्ने मात्र स्रष्टा हुन् । अक्षरमार्गीहरु जो स्वाभिमान छन् । उनीहरु पो स्रष्टा हुन् ।’

यसै खालका आशय पोखेर आफ्नो स्रष्टा–भाषण टुङ्ग्याए । दाङका चर्चित कवि गणेश विषमलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ वितरण भएको उक्त त्रिमूर्ति दिवसमा नरेन्द्रराज प्रसाईंद्वारा लिखित ‘विद्रोही प्राज्ञ प्रेमा शाह’ पुस्तक र गायत्री घर्तीमगरको ‘एक भूल’ पुस्तकको लोकार्पण प्रमुख अतिथि शताब्दी पुरुष डा. सत्यमोहन जोशीले गरेका थिए । कार्यक्रम रोचक र ऐतिहासिक लाग्यो । केही गरेर धेरै हल्ला गर्नेहरुको कार्यक्रम भन्दा नइको कार्यक्रम धेरै उच्चकोटीको लागेर यो टिप्पणी गरियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्