हुम्ला र डोल्पा पनि राष्ट्रिय सडक सञ्जालमा



सरेश तामाङ, काठमाडौं ।
हुम्लाको सदरमुकाम सिमिकोट दशै ंअगाबै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । सिमिकोट र डोल्पाको सरमुकाम दुनै बाहेक नेपालको अधिकांश सदरमुकाम राष्ट्रिय सडक संजालले जोडिसकेको छ ।

दशैंअघि ट्रयाक निर्माण सम्पन्न भएसँगै सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालबाट जोडिने भएको हो ।

हिल्सा–सिमिकोट सडक योजनाका प्रमुख शशांक मिश्रले हुम्लाको हिल्सादेखि सिमिकोटसम्मको ९५ किलोमिटर सडकको ट्रयाक दशैं अघि नै खोलिने बताउनुभयो ।

हिल्सा–सिमिकोट ९५ किमिमध्ये ९० किमि ट्रयाक खोलिसकिएको र ५० किमि सडक खण्ड दुई वटा सवारी आवत जावत गर्न सक्ने गरी बनाइसकिएको योजनाले जनाएको छ ।

‘योजनाको पहिलो प्राथमिकता सडकको नयाँ ट्रयाक खोल्ने नै हो,’योजना प्रमुख मिश्रले भन्नुभयो–‘दोश्रो प्राथमिकतामा सडक स्तरोन्नती पर्छ ।’
उहाँका अनुसार अहिले साढे चार सय मिटरमा रहेको कडा चट्टानको भागमा विष्फोटक पदार्थ प्रयोग गरी भीर फोर्ने काम भइरहेको छ । ।

उक्त योजना आब २०६९÷७० बाट सुरु भए पनि विष्फोटक पदार्थ उपलब्ध हुन ढिला भएकाले सो काम बल्ल सुरु गरिएको हो ।

उक्त भाग फोडिएपछि साँढे चार किलोमिटर सडक ट्याक खोल्न बाँकी रहने छ । बाँकी रहेको भाग २ महिनाभित्रै सम्पन्न गर्ने बताइएको छ ।

दुनै पनि मंसिरभित्र राष्ट्रिय सडक सञ्जालले जोडिने भएको छ । दुनै पुग्न चिन र जाजरकोट त्रिभेणी गरी दुई स्थानबाट ट्रयाक खोलिने छ । दुनै त्रिभेणीबाट सडकबाट जोडिने छ ।

डोल्पाको सडक हेर्ने अधिकारी डिभिजन सडक कार्यालय रुकुमका प्रमुख आशिष थापामगरले जाजरकोट–त्रिभेणी र चिनको मरिम्लादेखि दुनै जोड्न दुबै तिरबाट प्रयास भइरहेको बताउनुभयो ।

त्रिपुराकोटदेखि दुनैसम्म पहिला नै सडक भए पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन । जाजरकोट त्रिभेणीदेखि त्रिपुराकोटसम्मको ३५ किमी खण्डमा नेपाली सेनाले ट्रयाक खोलिरहेको र चीनको मरिम्लादेखि दुनैतर्फ १३० किमिमध्ये ६५ किमि ट्रयाक खोलिसकिएको मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्