मिश्रविरुद्व सोमवारबाट सुनुवाई, घिमिरे विरुद्ध उजुरीको आह्वान



प्रशान्त वली
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्व परेको उजुरी माथी आगामी सोमवार सुनुवाई हुने भएको छ । मिश्र विरुद्व परेको उजुरीमाथी सोमबार बिहान ९ बजेबाट सुनुवाई हुने संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उजुरी कर्ताहरुलाई आइतबार सिंहदरबार वोलाइएको छ । उजुरीका लागि दिइएको १० दिन मध्ये वुधवार अन्तिम समयसम्म मिश्रलाई अनुमोदन गर्न नहुने दाबीसहित चारवटा उजुरी दर्ता भएको थियो । मिश्र बिरुद्ध परेका चार वटा उजुरी मध्ये एक जना उजुरीकर्ताले उजुरी फिर्ता लिएको समितीले जनाएको छ ।

मिश्रविरुद्ध ऐनसेलको मुद्दामा राज्यलाई करोडौं घाटा हुने गरी पैसा विदेश लैजान अन्तरिम आदेश दिएको, सूर्य नेपालको मुद्दामा कर छली गर्न आदेश मार्फत सहयोग गरेको, हाँडीगाउँको सार्वजनिक जग्गा व्यक्तिका नाउमा नामसारी गर्न बाटो खोलिदिएको, विभिन्न मुद्दामा पैसा लिएर अभियुक्तलाई छाडेको लगायतका उजुरी परेका छन् ।

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
उक्त सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरे राष्ट्रपति विद्यादेवि भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच समितिको बैठकले संवैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविनकुमार घिमिरेमाथि सार्वजनिक उजुरीको आव्हान गरिएको छ ।

आज शनिवारदेखि लागु हुने गरी १० दिनभित्र उजुरी दर्ता गराउन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय वैठकले गरेको छ । भदौ २० गते बुधबार वसेको संवैधानिक परिषदको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्