पैसा नतिरेको भन्दै ब्यक्ति अपहरण गर्ने ८ जना प्रहरी नियन्त्रणमा



पुष्कर बुढाथोकी, भक्तपुर ।
प्रहरीले भक्तपुर नगरपालिका १ सल्लाघारी चोकबाट एक ब्यक्तिलाई अपहरण गर्न संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका ५ चौकोटबाट ८ जनालाई पक्राउ गरेको छ । भक्तपुरबाट अपहरणमा परेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ ग्याल्थुम बस्ने बर्ष ४७ को बिष्णु कटुवाललाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त पनि गरेको छ ।

आर्थिक लेनदेन भएका व्यक्तिहरुले निलो रंगको ट्याक्सीमा राखी जबर्जस्ती नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने जानकारी प्राप्त हुनसाथ खोजतसालको क्रममा भक्तपुर प्रहरीले धुलिखेल नगरपालिका५ चौकोटको उकालोबाट गाडी र मोटरसाइकलसहित संलग्न ब्यक्तिहरु पक्राउ गरिएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेबती रमण पोखरेलका अनुसारबा ५ च ९७३५ नम्बरको कार, बा ७८ प ५०५ नम्बरको मोटरसाइकल र बा ३४ प ५०० नम्बरको स्कुटीसहित बिहीबार बेलुका पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक सुनकोशी ५ बस्ने बर्ष २३ को दिपक भुजेल,सर्लाही हरिवन न.पा.२ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा बस्ने बर्ष २५ को कृष्णहरी अधिकारी ,सिन्धुपाल्चोक सुनकोशी ५ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक बस्ने बर्ष २९ को रामेश्वर सिलवाल र मकवानपुर थाहा नगरपालिका ४ घर भई हाल भक्तपुर सुर्र्यिवनायक बस्ने बर्ष ४२ को नकुल कार्की रहेका छन् ।
यसैगरी काभ्रेपलाञ्चोक नमोबुद्ध १० बस्ने बर्ष ४० को राजन घोरासाइने ,रामेछाप खाँडादेबी गा.पा. १ बस्ने बर्ष ३६ को टेक बहादुर बि.क. ,काठमाडांै महानगरपालिका २८ बस्ने बर्ष ४२ को धननारायण तण्डुकार र सिन्धुपाल्चोक सुनकोशी ५ बस्ने बर्ष २९ को रञ्जन सिलवाल रहेका छन् ।

घटना भक्तपुर जिल्लाको भएकाले पक्राउ परेकाहरुलाई भक्तपुर जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताउनुभयो । शाहका अनुसार कटुवालले तिर्नुपर्ने १ लाख ५० हजार रुपैयाँ नतिरेको भन्दै उनलाई अपहरण गरिएको हो तर के को रकम भन्ने खुल्न सकेको छैन । प्रहरी बरामद गरेको एउटा व्यागमा शंकास्पद सामाग्रीहरु समेत फेला परेको छ ।प्रहरीले त्यस क्रममा निलो कलरको बा. ५ च. ९७३५ नं.को कार,बा. ७८ प. ५०५ नं.को मोटरसाईकल र बा. ३४ प. ५०० नं. को स्कुटर समेत बरामद गरेको छ ।

कटुवाललाई उनीहरुले लेनदेनको विषयलाई लिएर अपहरण गरी जवरजस्ती बनेपा तर्फ लगेको भन्ने जानकारी पाउनसाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले बनेपा काभ्रेको प्रहरी टोलीसंग समन्वय गरी संयुक्त रुपमा खटिइ अपहरणमा प्रयोग भएका सवारी साधन सहित पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ८ जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्